१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उनी तेस्रो प्रयासमा रुसी सेनाबाट भाग्न सफल भए

साढे चार महिना रुसी सेनामा गएर युक्रेन विरुद्ध लडेका ३५ वर्षीय गणेश तेस्रो प्रयासमा मात्र त्यहाँबाट भाग्न सफल भएका छन्। उनी घर फर्कने सफल भाग्यमानीमा परेका छन्। गणेशले साढे ४ महिना डोनेत्सकमा युक्रेनविरुद्ध लडाइँ लडेका थिए।

रुसी सेनामा नेपालीलाई  कुकुरलाई जस्तो अमानवीय व्यवहार गरिने उनको भनाइ छ। ‘त्यो अत्यन्त डरलाग्दो स्थिति थियो। मानिस–मानिस र गोलीबाट मात्र गरिने युद्ध थिएन, ड्रोनबाट आक्रमण हुन्थ्यो। डरलाग्दो थियो’, उनले भने। उनी युद्धको अग्रमोर्चामा बसेर लडेका थिए। गणेश आफ्नै अगाडी तीन जना नेपाली मारिएको हेर्न विवश भए।

उनका अनुसार रुसी सेनामा भर्ना भएर युद्ध मैदानमा उत्रिएकाहरू त्यहाँबाट उम्कने सम्भावना अत्यन्त कम छ। अरू ६ नेपालीसँगै पहिलो पटक भाग्न खोज्दा गणेश समातिएका थिए र रुसी सैनिकले उनलाई निर्घात पिटेका थिए।

गणेश दोस्रो पटक एक एजेन्टमार्फत भाग्ने प्रयास गरेका थिए। त्यसका लागि एक नेपाली एजेन्टले १७ सय अमेरिकी डलर पठाउन भनेको थियो। ‘मैले त्यो पैसा पठाएँ,’ उनी सम्झन्छन्।

अन्य कैयन नेपालीलेसमेत भाग्न यस्तो प्रयास गरेको उनी बताउँछन्। ‘मैले एजेन्टले झुक्याएका १० देखि १५ नेपालीलाई देखेको छु’, उनी भन्छन्। तेस्रो पटकको प्रयासमा पैदल हिँडेर भागेका गणेश बाटोमा पर्ने पुराना घरहरूमा सुत्दै अगाडि बढेका थिए। डोनेत्सकमा तैनाथ रुसी प्रहरीका सामु आत्मसमर्पण गर्नुअघि एक सातासम्म उनले जंगलमै बिताएका थिए।

‘सीमा पार गर्न नसक्ने मैले ठानें। जंगलमा बस्दा पनि बाँच्न नसकिने ठानें। अनि मैले प्रहरीका सामु आत्मसमर्पण गरें। मलाई डेढ महिनासम्म थुनामा राखियो। र, अन्तत नेपाल फर्काइयो,’ उनले सम्झिए।

युक्रेनसँग लड्न रुसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ। गरिबीका कारण रुसी सेनामा भर्ना भएकामध्ये अधिकजसो नेपाली अहिले घर फर्कन व्याकुल छन्।

नेपाल फर्केपछि मन्दिरमा प्रार्थना गर्न लागेका बेला मन्दिर परिसरमै हामीले उनीसँग कुराकानी गरेका थियौं। घर फर्कंदा उनलाई राहत त मिलेको छ तर त्यो पीडाबाट उनी अझै पनि प्रभावित छन्। तेस्रो प्रयासमा गणेश रुसी सेनाको कब्जाबाट भाग्न सफल भएका थिए।

उनका अनुसार यसरी भर्ना भएका सैनिकलाई मस्कोभन्दा बाहिर रहेको एभानगार्ड सैनिक तालिम केन्द्रमा दुई साता तालिम दिइन्छ। गणेशले भारतीय सेनामा १० वर्ष काम गरेका थिए। रुसी सेनामा भर्ना भएका उनका अरू साथी भने अनुभवबिनाका थिए। कतिपयले यसअघि कहिल्यै बन्दुक पनि बोकेका थिएनन्। –स्काई न्युज

प्रकाशित: ८ चैत्र २०८० १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App