रोल्पामा चुनावी माहोल तातेको छ। यतिबेला कांग्रेसले गुमेको विरासत फर्काउने तयारी गर्दै गर्दा नेकपा विरासत जोगाइराख्ने दाउमा छ। त्यसो त एमाले र विप्लव नेतृत्वको नेकपा माओवादी आफूलाई स्थापित गर्न भरपूर प्रयत्न गरिरहेका छन्। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जोडतोडका साथ चुनावी मैदानमा उत्रिएको छ।
२०५५ सालमा पार्टी केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य, नेकपा (माओवादी केन्द्र) को उपमहासचिव, २०६४ सालको संविधानसभा चुनावमा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित उनी अर्थमन्त्री, २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री, २०७४ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७९ सालमा फेरि अर्थमन्त्री भए। तत्कालीन नेकपा (माओवादी) लडाकुका डेपुटी कमान्डरसमेत रहेका वर्षमान पुष्पकमल दाहालका विश्वास पात्र हुन्। उनी यसपटक रोल्पाको प्रतिनिधिका रूपमा आफूलाई उभ्याउन प्रयत्न गर्दैछन्।
दुईपटक अर्थमन्त्रीसमेत रहेका वर्षमानसँग यतिबेला कांग्रेसबाट युवा अर्थविद् डा. सुदनकुमार वली प्रतिस्पर्धामा छन्। ३४ वर्षीय वलीले अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालय, बेइजिङ, चीनबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। २०६० सालदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिक यात्रा सुरु गरेका उनी कांग्रेसको १२औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको सक्रिय सदस्य हुँदै कांग्रेसको आर्थिक नीति तथा योजना विभागका सदस्य बनेका थिए भने कांग्रेसको नीति, तालिम तथा अनुसन्धान संस्थानका विशेषज्ञ सदस्यका रूपमा पनि काम गरेका हुन्।
युवा तथा खेलकुद मन्त्रालयका लागि नीतिविज्ञ, लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानहरूका सल्लाहकार तथा प्रशिक्षकसमेत हुन्। अर्थशास्त्र, नीतिनिर्माण, योजना तथा अनुसन्धानमा गहिरो दक्खल राख्ने डा. वली शिक्षित, नीतिगत र विकासमुखी राजनीतिको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन्।
नेकपा एमालेका गोकुलप्रसाद घर्ती यो निर्वाचनका अर्का मुख्य पात्र हुन्। ५१ वर्षीय घर्तीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०६३ अनेरास्ववियुका महासचिव, नेकपा (एमाले) पोलिटब्युरो सदस्य, २०७० संविधानसभा सदस्य र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षसमेत बनेका थिए। अनेरास्ववियुको १८औं महाधिवेशनबाट महासचिवमा निर्वाचित घर्ती १९औं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए। उनी एमाले केन्द्रीय सदस्यसमेत हुन्।
विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट ५३ वर्षीय चुडामणि वली प्रतिस्पर्धामा छन्। २०४२ सालदेखि राजनीतिक यात्रामा रहेका उनी नेकपा (माओवादी) का विभिन्न जिम्मेवारी पूरा गरेका व्यक्ति हुन्। तत्कालीन नेकपा माओवादीको जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेका उनले जनमुक्ति सेनामा बटालियन र ब्रिगेड कमान्डर, केन्द्रीय सदस्य, सहइन्चार्ज, केन्द्रीय न्याय विभाग प्रमुख र पोलिटब्युरो सदस्यका रूपमा अनुभव बोकेका छन्। माओवादी द्वन्द्वका समयमा पटकपटक पक्राउ परी लामो समय हिरासत र कारागार जीवन बिताएका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीले जिल्ला उपाध्यक्ष बलराम थापालाई उम्मेदवार बनाएको छ। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले निर्माण व्यवसायी, इन्जिनियरिङ तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) बाट ७५ वर्षीय अम्मरबहादुर थापा क्षेत्री चुनावी मैदानमा छन्। २०३६ सालदेखि राप्रपाको सक्रिय राजनीति सुरु गरेका उनी हाल राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्य र राप्रपा रोल्पा जिल्ला अध्यक्ष हुन्।
राष्ट्रिय जनमोर्चाबाट ५७ वर्षीय मेखबहादुर बिष्ट उम्मेदवार बनेका छन्। अखिल नेपाल भारत एकता समाजबाट राजनीतिक यात्रा सुरु गरेका उनी राष्ट्रिय जनमोर्चा रोल्पाको जिल्ला अध्यक्षसमेत हुन्। मंगोल नेसनल अर्गनाइजेसनबाट ५३ वर्षीय कुमार घर्तीमगर उम्मेदवार छन्। १० वर्षदेखि मंगोल नेसनल अर्गनाइजेसन आबद्ध उनी मंगोल नेसनल अर्गनाइजेसनको दाङ जिल्लासभा सदस्य पनि हुन्। नेसनल रिपब्लिक नेपालबाट २९ वर्षीय मनबहादुर घर्तीमगर उम्मेदवार बनेका छन्। ६ वर्षदेखि राजनीतिमा सक्रिय नेसनल रिपब्लिक नेपालका केन्द्रीय सदस्य हुन्। आम जनता पार्टीबाट ५० वर्षीय दिलबहादुर कामी निर्वाचनमा छन्। लघु वित्तविरुद्ध संघर्ष समितिको रोल्पा जिल्ला अध्यक्ष हुँदै आम जनता पार्टीको जिल्ला प्रतिनिधिसमेत हुन्।
२०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनाइएको जिल्ला हो रोल्पा। २०१५ सालमा गजुलका खडानन्द सुवेदीले कांग्रेसबाट क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए। आफ्नो जीवनमा करिब दर्जनपटक चुनाव लडेका बालाराम घर्तीमगर बहुदलपछि पनि २०५१ सालमा राप्रपाका तर्फबाट ९५२३ मत ल्याएर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट क्षेत्र नं १ मा बरमन बुढा ९६५६ मत र क्षेत्र नं २ बाट सोही पार्टीका कृष्णबहादुर महरा १२ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित भएका थिए। २०५१ मा बालाराम घर्ती क्षेत्र नं १ बाट ९५२३ मत र क्षेत्र नं २ बाट कांग्रेसका सुरेन्द्र हमाल १७३९५ मत ल्याएर संसद् भवन छिरेका थिए। २०५६ मा आइपुग्दा कांग्रेस विजयी भएको थियो। क्षेत्र नं १ बाट कांग्रेसका लेखनाथ आचार्य ६६९५ मत र २ बाट पुन: सुरेन्द्र हमाल ८३४४ मत ल्याएर निर्वाचित भएका थिए।
२०६४ संविधानसभा चुनाव भयो। क्षेत्र नं १ बाट महिला नेत्री जयपुरी घर्ती (नेकपा माओवादी) २६ हजार पाँच सय पाँच र क्षेत्र नं २ बाट सोही पार्टीका पुष्पकमल दाहालले ३४ हजार दुई सय २० मत ल्याए। दाहालले रोल्पा छाडेर काठमाडौं रोजेपछि २०६५ को उपचुनावमा क्षेत्र नं २ मा १४ हजार दुई सय ८७ मत घटाएर १९ हजार नौ सय ३३ मा चित्त बुझाउन बाध्य भयो माआवादी।
त्यसपछिका हरेक निर्वाचनमा तत्कालीन माओवादीले मत घटाउँदै ल्याएको छ। १० वर्ष मच्याइएको आतंकबाट शान्तिप्रक्रियापछि राज्यको मूलधारमा आएको माओवादी छोटै समयमा आकार मात्र घटाएन माओवाद नै छाडेर हिँडेको छ। २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा रोल्पामा ६० हजार सात सय २५ मत ल्याएको तत्कालीन माओवादीले गत स्थानीय तहको मत हेर्दा ४१ हजार पाँच सय ९५ मतमा चित्त बुझाउनुपरेको थियो। उतिबेलाभन्दा बढेका मतदाताको संख्या अनि हालको त्यो मत हेर्दा उसले विरासत गुमाएको प्रस्ट हुन्छ।
प्रकाशित: २० माघ २०८२ १०:४२ मंगलबार





