१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको विवरण उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको तथ्याकं उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले सोमबार वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन भनेका छन्।

मन्त्रालयले सोमबार जारी गरेको प्रेसनोट अनुसार, विभिन्न गन्तब्य मुलुकमा गएका श्रमिकको शव रोकिएको तथ्यांकसमेत उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका छन्। बोर्डका कर्मचारीसँगको छलफलमा सबै गन्तब्य मुलुकबाट उपचाररत श्रमिक र शव रोकिएको तथ्यांक संकलनका साथै उद्धार तथा समस्या समाधानको योजना पनि बनाइने उनले बताए।

‘विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ । बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौं,’ मन्त्री अर्याललाई उदृत गर्दै प्रेस नोटमा भनिएको छ। त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनले बताएका छन्।

विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमा सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन गर्दै मन्त्री अर्यालले भने, ‘विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ।’

‘यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु,’ अर्यालले भनेका छन्, ‘यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु।’

त्यसैले नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न मन्त्री अर्यालले बोर्डलाई निर्देशन दिएका छन्। मन्त्री अर्यालले सोमबार नै नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराईन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सिलरसँग श्रमिकको समस्याको विषयमा छलफल गरेको हुन्।  

वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन त्यस्तै छलफलमा श्रम सचिव केवलप्रसाद भण्डारीले समेत आग्रह गरेका छन्। ‘बोर्डले श्रमिकको मुद्धामा संवेदनशिल नभएको गुनासो छ। त्यसैले आफनो जिम्मेवारी प्रति सचेत हुनुहोस,’ उनले भने।  

प्रकाशित: ६ चैत्र २०८० १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App