१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक बिदामा पनि खुल्छन् यी सरकारी कार्यालय

सार्वजनिक बिदाको दिनमा पनि केही सरकारी कार्यालयहरू खुल्छन् भनेर धेरैलाई थाहा नहुन सक्छ। गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी अबदेखि १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो।

उक्त दिन अत्यावश्यकीय सेवा खुला राख्ने निर्णय सूचना राजपत्रमा निकालिएको थियो। सोअनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन्। राजपत्रमा प्रकाशित सूचना अनुसार अत्यावश्यकीय सेवा दिने कार्यालयहरूले उक्त चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्ने छ।

गृह मन्त्रालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला हुनेछन।

राजपत्रमा निकालिएको सूचनामा जनयुद्ध दिवसका दिनमा अत्यावश्यकीय सेवा दिने कार्यालय खुला राख्ने निर्णय जानकारी गराइएको थियो। तर सर्वाेच्च अदालतले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरिसकेको छ।

यसैगरी, प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा प्रवाह सञ्चालनमा ल्याउने निर्णय भएको राजपत्रमा सूचना निकालिएको थियो।

सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा दिने कार्यालय खुले पनि अधिकांश सेवाग्राहीलाई यसबारेमा थाहा भएन। यसले गर्दा सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा दिन कार्यालय सुनसान हुने गर्छन्।

भूमि व्यवस्थापन विभागका महानिर्देशक विदुर खनालले सार्वजनिक बिदाको दिनमा देशभरि मालपोत कार्यालय खुले पनि सेवाग्राहीलाई थाहा नहुँदा त्यस दिन सेवाग्राहीहरू निकै कम हुने बताए। सेवाग्राही कम हुँदा त्यसदिन कर्मचारीहरू पनि कम हुने उनको भनाइ छ।

‘बिदाको दिनमा हामीले कर्मचारीहरूको एउटा युनिट राखेका हुन्छाैं। निवेदन लिने, सनाखत गर्ने जस्ता काम गरेका हुन्छौं। तर, सेवाग्राहीहरू निकै कम हुन्छन्,’ खनालले भने, ‘त्यसैले सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ।’ नापी कार्यालयहरू पनि सार्वजनिक बिदामा पनि खुलेका हुन्छन् तर सेवाग्राही नहुँदा काम हुँदैन।  

बिदाका दिनमा अत्यावश्यकीय कार्यालयहरू खुले पनि त्यस्ता कार्यालयमा सबै कर्मचारी भने पुगेका हुँदैनन् तर पनि जनताको काम नरोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद शर्माले बताए। ‘बिदाको दिनमा पनि हामीले अरू दिनमा झैं काम सञ्चालन गरेकै हुन्छाैं। काम रोकिँदैन,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा भने अन्य दिनमा जस्तै बिदाका दिनमा पनि सेवाग्राहीको काम र जनताको भीड उस्तै हुने उनले बताए। गृह मन्त्रालयले निकालेको राजपत्रमा वर्षभरिका शनिबार, दसैं र तिहार बिदामा भने अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालयहरू बन्द हुने व्यवस्था गरिएको छ।

प्रकाशित: ४ चैत्र २०८० ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App