१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने सिआइबी प्रमुख बज्राचार्यसहितको टिमै हटाइँदै

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।  

गृहमन्त्री रवि लामिछानेका व्यापारिक साझेदार जीबी राईमाथि अनुसन्धान भइराखेको अवस्थामा सिआबीका प्रमुख एआइजी किरण बज्राचार्यसहित त्यसको अनुसन्धानमा खटिएको टिमलाई हटाउन लागिएको हो।

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्व सञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको थियो। त्यसलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा प्राविधिक रूपमा मात्र होइन सिङ्गो ब्युरो नै लागेर अनुसन्धान गरिरहेको छ।

सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सिआइबीलाई तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रालयमै बोलाएर रविमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए।

सिआइबी स्रोतका अनुसार एआइजी बज्राचार्यले सुरुमा प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चपदस्थ कर्मचारीसँग परामर्श गरेकी थिइन्। त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग पनि परामर्श लिएकी थिइन्।

‘यो अनुसन्धान प्रधानमन्त्रीसँगको छलफलपछि अघि बढेको हो। परिणाम निकाल्ने गरी सिआइबी अनुसन्धानमा जुटेको छ,’ स्रोतले भनेको थियो।  सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारी पीडितले पूरक निवेदन दिएका थिए। त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन्। सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो। यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने स्वंय मुछिएका छन्। उनको बारेमा संसद् र सडक दुवै ठाउँ प्रश्न उठको बेला सिआइबी सहकारी ठगी अनुसन्धान गरिरहेका टिमलाई सुन् तस्करलाई सहयोग गरेको आरोप लगाएर कारबाही गर्न खोजिएको स्रोतले जनाएको छ।  

‘गृहमन्त्रीज्यू बिहीबार नै सिआइबी प्रमुखलाई हटाउन चाहनुहुन्थ्यो आज बिहान प्रधानमन्त्रीसँग भेटघाट गरेर आइएपछि आइजिपीलाई हटाउन निर्देशन दिनु भएको छ, सायद अहिले प्रहरी प्रधान कार्यालयमा फिर्ता हुन्छ होला’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

प्रकाशित: २ चैत्र २०८० १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App