१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अन्तरदेशिय सङ्गठित गिरोहका तीन जना मोरङबाट पक्राउ

पक्राउ परेका व्यक्तिहरू।

अन्तर्राष्ट्रिय सङ्गठित गिरोहका तीन जनालाई प्रहरीले मोरङको सलकपुरबाट पक्राउ गरेको छ। ठगी गर्ने उद्देश्यले पैसा दिएर सर्वसाधारणको नागरिकताको फोटोकपी र फोटो संकलन गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा परोपकारी संस्था डब्लु बि.एस.सी. कम्पनीको नाममा सर्वसाधारणलाई एक हजार र पन्ध्र सय रुपैयाँका दरले पैसा दिदैं नागरिकताको फोटोकपी र फोटो संकलन गर्दै आएका तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

व्यक्तिगत पहिचान खुल्ने आधिकारिक कागजपत्र लिने र त्यसको दुरुपयोग गर्ने उद्देश्यले पैसा दिएर सर्वसाधारणको नागरिकताको फोटोकपी र फोटो संकलन गर्दै गरेको अवस्थामा प्रहरीले उनिहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको मोरङका प्रहरी प्रवक्ता रञ्जन दाहालले बताए।

उनका अनुसार अहिले अनलाइन ठगी र बैंकमा रहेका व्यक्तिका खाताहरु ह्याक गर्ने गिरोह सक्रिय रहेका बेला उनीहरुको गतिविधिले आशंका पैदा गरेको छ। प्रहरीले फागुन २८ गते पक्राउ परेकामध्ये दुईजना बङ्गलादेशी नागरिक रहेका छन्। एक जना नेपाली हुन्। पक्राउ पर्नेहरूमा बंगलादेश पल्लाबी ढाका बस्ने वर्ष ४९ का महमद महबुर हुसेन, बंगलादेश सितागन्ज बस्ने ३७ वर्षीय महमद तानविर हुसेन र काठमाण्डौं नयाँ बजार बस्ने २३ वर्षीय सुनिता खत्री छिन्।

दाहालका अनुसार उनीहरुमध्ये बङ्गलादेशी नागरिक महमद तानबिर हुसेन नामबाट बंगलादेशमा राष्ट्रिय परिचय पत्र लिएका व्यक्तिले रौतहतबाट तानबिर मियाँ दर्जीको नामबाट नेपाली नागरिकता बनाएको देखिएको छ। 

त्यसका आधारमा उनले नेपाली राहदानी समेत बनाएको पाइएको छ। ‘बङ्गलादेशी नागरिक काठमाण्डौंमा गार्मेन्टमा काम गर्न आएर संगठित रुपमा ठगीमा सक्रिय हुने योजना बनाएको देखिन्छ, प्रहरी नायव उपरीक्षक दाहालले भने ‘त्यस क्रममा नेपाली नागरिक खत्रीसँगको सम्पर्कमा पुगेको अनुसन्धानमा देखिएको छ।’

प्रहरीले यसको संगठित गिरोह देशै भरी हुनसक्ने सम्भावना रहेको आशंका गरेको छ। उनिहरूले पैसाको प्रलोभनमा पारी ३० जना भन्दा बढी व्यक्तिहरूसँग नेपाली नागरिकताको प्रतिलिपि र फोटो संकलन गरेको पाइएको छ।

संगठित रुपमा रहेका उनीहरुले व्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र र फोटो संकलन गरेपछि ईसेवा, खल्ती लगायतका डिजिटल वालेटको खाता खोलेर ठगी गर्ने उद्देश्य प्रेरित देखिएको छ।

वालेटहरूको खाता खोलेपछि त्यसमा पैसा पठाउने र झिक्ने, अनलाइन ठगी गर्ने अन्तरदेशीय गिरोहका संगठित समूहमा संलग्नहरु पक्राउ गरेपछि देशै भरी भइरहेको अपराध अनुसन्धानमा सहज हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

परोपकारी संस्थाको रुपमा आर्थिक सहयोग गरे बापत नागरिकताको फोटोकपी र फोटो मागेपछि उनीहरुले बैंक एकाउन्ट खोल्ने, एटिएम झिक्ने र अन्य एकाउन्ट ह्याक गरेर पैसा ट्रान्सफर गर्ने अनि झिक्ने आशय देखिएको प्रहरीले जनाएको छ।

नेपालमा भएका अनलाइन ठगी र बैँकको खाता ह्याकगरी विभिन्न वालेटबाट पैसा ट्रान्सफर गरेका घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम न्यून रहेको छ। गिरोहले सिधासाधा सर्वसाधारणलाई प्रलोभनमा पारेर नागरिकता, फोटोलगायतका कागजपत्र लिई बैंक खाता खोल्ने, विभिन्न वालेटहरू खोल्ने ती खाताहरूबाट गैरकानुनी काम गर्ने गरेका कारण अपराधीसम्म नै प्रहरीको अनुसन्धान नपुग्ने, सिधासाधा सर्वसाधारणमा पुगेर अनुसन्धान टुंगिने गरेको दाहालले बताए।

उनले भने ‘अनलाइन ठगीको घटना धेरै भए पनि कारबाही भने न्यून मात्रै रहने कारण गिरोहले अरुकै नाममा बैंक तथा वालेटका खाता खोलेर गैरकानुनी काम गर्ने गरेकाले हो।’ मोरङमा पक्राउ परेकाहरूले पनि अनलाइनबाट पैसा ट्रान्सफर गर्ने उद्देश्य राखेको प्रहरी समक्ष स्वीकार पनि गरिसकेको दाहालले जानकारी दिए।

गिरोहले कति जनाबाट कति रकम ठगी गरे भन्ने खुलिनसकेको तर, ठगी गर्ने नै उद्देश्यले सार्वसाधारणबाट नागरिकताको प्रतिलिपि र फोटो संकलन गरेको अनुसन्धानमा पाइएको दाहाले बताए।

प्रहरीले उनीहरुको साथबाट एनसेलका १५ थान सिमकार्ड, सुनिता खत्री र तानबिर मिया दर्जीको नाममा रहेको राहदानी, नेपाली नगद ५ हजार १ सय ५० रुपैयाँ, एटिएम कार्ड, विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद गरेको छ।

उनीहरु विरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। उनिहरूको गिरोहका एक जना भने फरार रहेका कारण उनको खोजी भइरहेको दाहालले बताए।

मोरङ प्रहरीले कोही पनि अपरिचित व्यक्तिले आफ्नो नागरिकता, फोटो माग्ने गरेको भए तत्काल खबर गर्न समेत आग्रह गरेको छ। पक्राउ परेकाहरूलाई ठगी उद्योग कसुरमा  अनुसन्धान थालिएको दाहालले बताए।

प्रकाशित: १ चैत्र २०८० १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App