१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।

विगत एक वर्षदेखि स्थानीय सरकारले आफूहरूको मागको सुनुवाइ नगरेको भन्दै उनीहरूले बुधबार दिउँसोदेखि उपमहानगरपरिसर र बाहिर सडकमा ट्रयाक्टर तेस्र्याएर घेराउ गरेका छन्। ट्रयाक्टरले गर्दा उपमहानगर गेटभित्र र बाहिर सवारी आवतजावत अवरुद्ध भएको छ। धरान–१२ चतरालाइन सडकमा पनि सवारी आवागमनमा असहज भएको छ।

खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा व्यवसायीहरू आर्थिक मारमा परेको भन्दै ट्रयाक्टर व्यवसायीहरू संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन्। धरानमा मात्रै ५६ वटा ट्रयाक्टर रहेका ट्रयाक्टर व्यवसायी संघको भनाइ छ।

संघका अध्यक्ष विक्रम तामाङका अनुसार उपमहानगरपालिकाले खोला ठेक्का नलगाउने भए आफैंले राजस्व लिएर मापदण्डबमोजिम नदीजन्य पदार्थ मिक्सगिट्टी निकासी गर्न दिनुपर्ने एक मात्र माग रहेको छ।

‘पुर्जी नगरपालिकाले नै काटोस्, हामी राजस्व तिर्न तयार छौं। खोलामा नगर प्रहरी खटाओस्, हामी मापदण्डभन्दा बढी निकाल्दैनाैं’, अध्यक्ष तामाङले भने, ‘तर हाम्रो मागको सुनुवाइ एक वर्षदेखि भएको छैन। व्यवसायीहरू मारमा परेका छौं।’ विगतमा पनि नगरले पुर्जी काटेर ट्रयाक्टरहरूलाई निकासी गर्न दिएको उनको भनाइ छ।  

धरानका मेयर हर्क साम्पाङ भने नदीजन्य पदार्थ ठेक्का लगाएर वा निजी क्षेत्रलाई उत्खनन गर्न दिएर निकासी नगर्ने पक्षमा छन्। जथाभावी नदीजन्य पदार्थ झिक्दा पहिरो गएर धनजनको क्षति हुने, प्रकृति विनाश हुने भन्दै उनले कार्यपालिका बैठकमा खोला ठेक्का नलगाउने एजेन्डा पारित गराएका थिए।

पछि पुनः नगरलाई विकासको काममा आवश्यक पर्दा मापदण्डबमोजिम आफैंले नदीजन्य पदार्थ झिक्ने भनेर अर्को निर्णय पनि भएको छ। सोही निर्णयअनुसार नगरले सडकहरू निर्माण हुँदा आफ्नै ट्रिपर र जेसिबी प्रयोग गरेर मिक्सगिट्टी, ढुंगा निकासी गरेर प्रयोग गर्ने गरेको छ।

ट्रयाक्टर व्यवसायीहरू मंगलबार मेयर साम्पाङलाई भेटेर राजस्व लिई नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका थिए। तर, साम्पाङले खोलाबाट त्यसरी नदीजन्य पदार्थ झिक्न नदिने अडान राखेपछि ट्रयाक्टर व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

नगरले निकासी अनुमति नदिए पनि लुकीछिपी ट्रयाक्टरहरूले निकासी गरिरहेका र नगर प्रहरीले पक्राउ गर्ने गरेको छ। यसले ट्य्राक्टरमा आश्रित परिवारको बिचल्ली हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ। व्यवसायीहरूले पनि बैंकबाट ऋण लिएर ट्रयाक्टर किनेका र किस्ता तिर्न नपाएर समस्या भइरहेको गुनासो अध्यक्ष तामाङले गरे।

प्रकाशित: १ चैत्र २०८० ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App