११ वर्षअघि जलवायु कार्यकर्ताका रूपमा मेरो यात्रा सुरु भएको हो। जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव र विश्वव्यापी रूपमा जलवायु परिवर्तनको सम्बोधन गर्ने युवा अभियानमा यस अवधिमा म सहभागी हुँदै आएकी छु।
जलवायुबाट अत्यधिक प्रभावित हुँदाहुँदै पनि नेपालमा यो अभियानमा महिलाहरूको थोरै सहभागिता र नेतृत्व रहने गरेको छ। जलवायु र अन्य वातावरणीय मुद्दामा तल्लो तहबाट युवा तथा महिलाको सहभागिता तथा क्षमता निर्माणमा हामीले ध्यान दिएका छौं। जलवायु न्याय र लैंगिक समानताका क्षेत्रमा काम गर्ने हिसाबले ‘पावर सिफ्ट, नेपाल’ र ‘इनभाइरोमेन्टल एन्ड रिसर्च सेन्टर’ नाम गरेका संस्थाहरू दर्ता गरेर काम गर्दै आएकी छु।
विगत ११ वर्षमा मैले नेपालमा जलवायु न्यायको स्थानीय अभियानको नेतृत्व गरेकी छु। यसबाहेक विश्वव्यापी स्तरमा क्षेत्रीय साझेदारहरूसँग मिलेर यो विषयमा आवाज उठाउँदै आएकी छु। स्थानीय स्तरमा हाम्रो संस्थाले दिगो वातावरणका लागि प्रशिक्षण, अनुसन्धानलगायतका व्यावहारिक शिक्षा दिँदै आएको छ। हामीले माटोबिना नै खेती गर्ने हाइड्रोपोनिक सेवा, यससम्बन्धी तालिम र अन्य सहयोग तथा फोहोर व्यवस्थापन तालिम दिँदै आएका छौं। यसबाहेक विभिन्न पुनर्उत्पादक र प्राविधिक हिसाबले सही विधिमार्फत दिगो समाधानका उपायहरूमा हामीले जोड दिन्छौं।
स्थानीय र राष्ट्रिय स्तरमा गरेका कामको कारण ‘दक्षिण एसियाली क्लाइमेट एक्सन’, ‘क्लाइमेट एक्सन रेस टु जिरो’लगायत अवार्ड प्राप्त गरेकी छु। ‘योङ वोमन इन डेभलपमेन्ट’ नामक सस्थाद्वारा दिगो विकासमा योगदान दिने विश्वका २० प्रमुख युवा महिलामा म छानिएकी थिएँ।
यो पनि पढ्नुहोस्
नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिलाप्रकाशित: २५ फाल्गुन २०८० १२:१० शुक्रबार