८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

महाशिवरात्रिको महिमा

एउटा कथा छ। एकपटक दुई दाजुभाइ महाशिवरात्रिको व्रत बसेका थिए। बेलुकातिर दुवैजना मन्दिर गइरहेका थिए। बाटोमा एउटी नर्तकी नाचिरहेकी थिइन्। दुवै जना एकछिन त्यही हेर्न लागे। एक छिनपछि दाइले भन्यो-जाऔँ। भाइले एकछिन हेरौँ न भनेपछि दाइले तिमी नजाने भए म जान्छु भने।

दाइ मन्दिरमा पुगेर भजनकीर्तन हेर्न थाले। एकछिनपछि बेजोडले पानी परेकाले भाइ मन्दिर जान सकेन। जब दुवैजना मरे, दाइ नरकमा गयो र भाइ स्वर्गमा। दाइले भगवानसित गुनासो गरे– किन यस्तो?

भगवानको भनाइ थियो-तिमी मन्दिरमा हुँदा हुँदै पनि नाच हेर्दै गर्दा भाइलाई के भो होला भनेर उसलाई सम्झिरह्यौ। तर भाइ नृत्यशालामा हुँदा हुँदै पनि महाशिवरात्रि व्रतबारे सोचिरहे। मन्दिरमा पुग्न सकिन भन्नेतर्फ ध्यान दिइरहे। यसै शुद्ध र अशुद्ध विचारका कारण तिमी नर्क र भाइ स्वर्गमा पुग्यौ। यस कारण हामीले जहिले पनि विचार र भाव शुद्ध राख्नुपर्छ।

प्राचीनकालदेखि नै मान्छे शुभ कार्य गर्नका लागि शुभ मुहूर्त उपयोग गर्दै आएका छन्। शुभ मुहूर्त भनेको शुभ साइत हो।

यस्तो समयमा कुनै पनि कार्य गरेमा सफलताको संभावना धेरै हुन्छ। यसमा मुहूर्तको मतलब हुन्छ क्षण। कार्यमा सफलताका लागि तिथि, चन्द्रमाको स्थिति, नक्षत्र, चौघरिया, राहूकाल र अभिजित काल जस्ता समय हेरेर मान्छे कार्य प्रारम्भ गर्छ।

यसबाहेक ज्योतिषशास्त्रअनुसार शुभ साइत निकाल्नका लागि तिथि, बार, नक्षत्र, योग, करण, नौ ग्रहको स्थिति, मलमास, अधिक मास, अशुभ योग, भद्रा, शुभ लग्न, शुभयोग र राहुकाल हेर्नुपर्छ। जसरी वैदिककालदेखि नै मानवीय जीवनमा ब्रह्म मुहूर्तको धेरै महत्त्व छ। सूर्योदयको दुई घण्टा पहिलाको समयलाई ब्रह्म मुहूर्त भनिन्छ। ध्यान साधनाका लागि यो समय धेरै नै महत्त्वपूर्ण हुन्छ।

त्यस्तै महाशिवरात्रि पनि महाशुभमुहूर्त हो। २०८० फागुन कृष्णपक्षको चतुर्दशी तिथि २५ गतेको रात्रि १०.१७ मिनटदेखि सुरु हुन्छ। रात्रिपूजाको विधानका कारण त्यो व्रतको पूजा २५ गते राति हुन्छ।

वर्षभरि नै शिवजीको पूजा गरेको फल एक दिनमा नै प्राप्त हुने दिन हो महाशिवरात्रि व्रत। आजको दिन रुद्राभिषेक पनि गरिन्छ। भगवान शिवको पूजामा त्रिपुंडको धेरै नै महत्त्व हुन्छ।

त्रिपुंड लेप गरेर भगवान शिवको अभिषेक गर्नुपर्छ। यसका लागि तीनवटा औँलामा चन्दन वा विभूत लगाएर टाउकोमा देव्रेदेखि दाहिनातर्फ लगेर त्रिपुंड बनाउनुपर्छ।

शिवपुराणको अनुसार, दूध, दही, घिउ, मह र गंगाजलबाट अभिषेक गरेमा भगवान शिव धेरै नै प्रशन्न हुन्छन्। अभिषेक गर्ने बेलामा लगातार महामृत्युंजय मन्त्रको जाप गर्नुपर्छ। अभिषेक गरेपछि पहेँलो कपडामा सवा पाव पहेँलो चामल बाँधेर शिवलिंगको छेउमा राखेर धेरै राम्रो हुन्छ। अभिषेकमा काँचो दूध उपयोग गर्नुपर्छ।

फागुन चतुदर्शी तिथिका दिन भगवान् शिव वैराग्य छाडेर देवी पार्वतीसँग बिहे गरेर गृहस्थ जीवनमा प्रवेश गर्नुभयो। पुराणमा भनाइ छ-महाशिवरात्रिको पावन दिनमा भगवान शिव निराकारबाट साकाररूपमा प्रकट हुनुभएको थियो। त्यही दिन उहाँको बिहे पनि भएको थियो।

यसै कारण महाशिवरात्रिको व्रत मनाइन्छ। त्यो दिन महादेवको उपासना गरे भने स्वास्थ्य लाभ, अकाल मृत्युबाट मुक्ति र सम्पूर्ण सुख प्राप्त हुन्छ। त्यो दिन व्रत, उपवास, मन्त्र जप र रात्रि जागरणको विशेष महत्त्व छ।

महाशिवरात्रिको दिन भगवान शिवको नियमपूर्वक पूजा गर्नाले मान्छेको जीवनमा खुसियाली आउँछ। साथै सबै काममा प्रगति र सफलता प्राप्त हुन्छ।

भगवान शिव त्रिदेवमध्ये एउटा देव हुनुन्छ। उहाँलाई संहारको देउता मानिन्छ। यस कारण उहाँको उपासना जन्म–मृत्युको चक्रबाट मुक्त गर्छ र मोक्ष प्राप्त हुन्छ।

शिवपुराण मानवीय चेतनालाई चरम शिखरसम्म पुर्‍याउने सर्वोच्च विज्ञान हो। शिवपुराण १८ वटा प्रमुख पुराणमा एउटा धेरै महत्त्वपूर्ण पुराण हो। यसमा भगवान शिवको लीला कथा, पूजाविधिका साथ शिवलिंगको उत्पत्तिको पनि कथा हो। भगवान शिव र उहाँका अवतारहरूको यसमा वर्णन गरिएको छ।

शिवपुराणलाई महापुराण पनि भनिन्छ। वैज्ञानिक दृष्टिकोणले पनि महाशिवरात्रिको रात्रि धेरै महत्त्वपूर्ण छ। त्यो रात्रि समस्त ग्रहहरू उत्तरी गोलाद्र्धमा एउटा खास स्थितिमा अवस्थित रहन्छन्।

त्यहीबेला शुभ मुहूर्तमा ध्यान, साधना, जप, भजन, कीर्तन र व्रत गर्नाले साधकको आन्तरिक ऊर्जा अप्रत्याशित रूपले माथि (सहस्रार) तिर जान्छ र यसमा प्राकृतिक शक्तिले पनि सिधा सहायता गर्छ। भन्नाले साधकलाई अध्यात्मको सर्वोच्च शिखरमा पुर्‍याउन मद्दत मिल्छ।

प्रत्येक श्रावणमा आउने चतुर्दशीको दिन शिवरात्रि पूजनको विधान हो। शिवपुराणका अनुसार समुद्र मन्थनको बेला हलाहल नामक विष पनि निस्केको थियो।

उक्त विषलाई भगवान् शिवले आफ्नो घाँटीमा राख्नुभएको थियो। यस विषको गर्मी शान्त गर्न र शीतलता प्रदान गर्नका लागि सबै देवताहरू जल र पञ्चामृतबाट उहाँको अभिषेक गर्नुभएको थियो। यसै कारण भगवान शिवलाई नीलकन्ठ पनि भनिन्छ।

शिवपुराणअनुसार महाशिवरात्रिको बेला शुभ मुहूर्तमा कम्तीमा १०८ पटक यस महामन्त्रका जाप र हरेक मन्त्रको अन्तमा हवन सामग्रीको होम गर्‍यो भने जीवनको सर्वबाधा नष्ट हुन्छ।

‘ॐ त्र्यम्बकाय नमः’ भगवान शिवको यो अति नै गुप्त मन्त्र हो। सर्वकल्याणका लागि दैनिकरूपमा ब्रह्म मुहूर्तमा १०८ पटक यस मन्त्रको जपको विधान छ। ‘ॐ त्रिनेत्राय नमः’ आकस्मिक धनलाभ, ऋणमुक्ति र धनवृद्धिका लागि यस मन्त्रको जपको विधान छ।

‘ॐ ह्रीं हैं नमः शिवाय’ शत्रुनाशका लागि यस मन्त्रको जपको विधान छ। ‘ॐ पार्वतीपतये नमः’-विवाह हुनका लागि यस मन्त्रको जपको विधान छ। ‘ॐ नमो भगवते दक्षिणामूर्तये नमः’-सन्तान प्राप्तिका लागि यस मन्त्रको जपको विधान छ। ‘ॐ ह्रीं स्फुर स्फुर प्रस्फुर प्रस्फुर’-यो एउटा अघोर मन्त्र हो तन्त्र साधनाका लागि भगवान शिवलिंगको ध्यान गरेर यस मन्त्रको जप गर्‍यो भने चाँडै सफलता  प्राप्त हुन्छ।

-स्वामी ध्रुव माइन्ड मैनेजमेन्ट मुभमेन्टको प्रणेता हुन्।

प्रकाशित: २५ फाल्गुन २०८० ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App