१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित

लुम्बिनी मायादेवी मन्दिर। तस्बिर : नागरिक

बुद्ध जन्मस्थल लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ। संघीय सरकारमा भएको सत्ता समीकरणको फेरबदलको असर लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलनमा परेको हो। मंगलबार बसेको लुम्बिनीको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुने भनिएको शिखर सम्मेलनबारे आधिकारिक निर्णय गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार मन्त्रिपरिषद् बैठक डाकेका थिए। मन्त्रिपरिषद् बैठकले सिखर सम्मेलन स्थगित गर्नुको ठोस कारण खुलाएको छैन। विशेष कारण भन्दै सम्मेलन स्थगित गर्ने निर्णय गरिएको छ।

सम्मेलनको अधिकांश तयारी पूरा भएको थियो। सम्मेलनका लागि बुटवलमा सचिवालय स्थापना गरी तीन महिना अघिदेखि नै तयारी थालिएको थियो। निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापन, होटल बुक गर्ने, विदेशी पाहुनाका लागि टिकेटिङ जस्ता तयारीका काम भइसकेको सचिवालयले जनाएको छ। पछिल्लो समय फेरिएको राजनीतिक समीकरणसँगै लुम्बिनीमा गर्न लागिएको सम्मेलन पनि स्थगित भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता निराजन घिमिरेले बताए।

सम्मेलनमा नौ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख तथा प्रधानमन्त्री, सम्बन्धित क्षेत्रका विज्ञ, केही ठूला लगानीकर्ता समेत गरी ३० जना विशिष्ट विदेशी पाहुना आउने तयारी थियो। विशिष्टसहित सय विदेशी पाहुनालाई निमन्त्रणा पठाइसकेपछि सम्मेलन स्थगित भएको छ।

नोबेल पुरस्कार विजेतासहितका विशिष्ट पाहुनाहरू सम्मेनलमा आउने तयारीमा रहेका बेला सत्ता समीकरणमा भएको फेरबदलले सम्मेलन नै स्थगित गरिएको सन्देश पठाउनुपरेको र त्यसले नेपालप्रति सकारात्मक सन्देश नगएको मुख्यमन्त्री कार्यालयकै एकजना अधिकारीले बताए।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख बजेट छुट्याएको छ। बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बाल शोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले शिखर सम्मेलन गर्ने भनिएको थियो।

शिखर सम्मेलनमा भाग लिन एकै पटक नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउँदै थिए। विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू अब्देससतार वेन मौसा, विदेद बुसामावुई, कैलाश सत्यार्थी, एरी वार्सल, लेहम बोवी, टवाको कम्र्यान, जोडी विलियम्स, जोजे रामोस ओर्टा र रिचर्ड रोबर्ट्स सम्मेलनमा सहभागी हुने तयारी थियो।

विकासोन्मुख देशका राष्ट्रप्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी, अन्तर्राष्ट्रिय मिडियाकर्मीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुने निश्चित भएको थियो।

जोर्डनका राजकुमार अली विन अल हुसेन, टिमोर लिष्टेका राष्ट्रपति, अर्थशास्त्री जेफ्री स्याक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफन लोफभेनलगायतका विशिष्ट पाहुना सम्मेलनका लागि लुम्बिनी आउँदै थिए।

नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, शान्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत विज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीको सहभागिता रहने भनिए पनि राजनीतिक अस्थिरताकै कारण अन्तिम समयमा सम्मेलन स्थगित गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्धजन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्त्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको भए पनि बदलिँदो राजनीतिक समीकरणले कार्यक्रम स्थगित गर्नुपरेको प्रतिक्रिया दिए।

सम्मेलनमा विश्वभरका बालबालिकाको अधिकार र शान्ति लागि दिशानिर्देश गर्दै बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्ने तालिका थियो। सम्मेलनले लुम्बिनीको आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको थियो। सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनाहरूलाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी पनि थियो।

प्रकाशित: २४ फाल्गुन २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App