१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुक्खा पहिरो र हिउँका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अवरुद्ध

हिमा गाउँपालिका ४ जुँगाडमा सुक्खा पहिरो। पहिरोसँगै खसेको ठूलो ढुंगाका कारण सडक यातायात अवरुद्ध भएको छ। तस्बिर : नागरिक

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ। तातोपानी– १ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा पहिरो खसेको हो।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पूर्ण रुपमा बन्द भएको बताए। उनका अनुसार सवारीसाधन रोकिएका छन्।आवतजावत पनि ठप्प भएको छ। पहिरो पन्छाउने कार्य भइरहेको छ।  

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले पहिरो पन्छाउन मेसिन प्रयोग भइसकेको बताए। उनले भने, ‘पहिरो गएर सडक बन्द भएको खबर प्राप्त भएपछि सडक खुलाउने प्रयास भइरहेको छ।’ सुर्खेत र नेपालगञ्जदेखि जुम्ला सदरमुकाम खलंगातिर आउने सवारीसाधन रोकिएका छन्।

यता हिमा गाउँपालिका ४ स्थित  जुगाडमा सुख्खा पहिरोले ठुलो  ढुंगो खस्दा सडक यातायात अवरुद्ध भएको छ। यस्तै कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ। एक हप्ताअघि मात्र यस खण्डमा जमेको हिउँ पन्छाएर सडक डिभिजन कार्यालयले सडक यातायात सुचारु गराएको थियो।

शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। मौसममा सुधार आउनासाथ हिउँ हटाइने उनको भनाइ छ। कार्यालयले सूचना जारी गरी हिउँ परिरहेकाले सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।

सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन्। नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भागमा पर्दछ।

प्रकाशित: २१ फाल्गुन २०८० ०८:३० सोमबार

यातायात सेवा कर्णाली राजमार्ग नाग्म–गमगढी सडक सुक्खा पहिरो हिमपात अवरुद्ध