१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपातले ‘सुविकाल’ आएपछि जुम्लेली उत्साहित

जुम्लाको गुठीचौर गाउँपालिका– ५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी  आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन्। हिउँको प्रतीक्षामा रहेका उनलाई हिउँ परेपछि सुविकाल (सुखद समय) को आशा पलाएको हो। ‘कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो’, उनले भने, ‘आँगन सेतो हुने गरी हिउँ पर्दा मनै खुसी भयो। खडेरी र अनिकालको चिन्ता हट्यो।’

भण्डारीले जति धेरै हिउँ आयो, उति धेरै जेठबाली र स्याउ, ओखरलगायतका फलफूलको सुविकाल आउने बताए। ‘वर्षा र हिउँ परेपछि धुलो हटेर रुघाखोकीको बिराम पनि कम हुन्छ’, उनले भने।

शुक्रबारदेखि जुम्लाका सबैजसो उच्च गाउँबस्तीमा हिमपात भएको छ। लामो समय हिउँ नपर्दा यहाँका किसानले डरैडरले स्याउ बगैंचा व्यवस्थापन गरेका थिए। हिउँले जमिन चिसो राखेर स्याउ बगैंचामा सिँचाइको काम गर्ने छ।

भण्डारीले पाँच सय स्याउका बिरुवा लगाएको बताए। उनले भने, ‘५० हजार वर्गमिटर क्षेत्रफलमा गहुँ र जौ लगाएको छु। खडेरीले पहेँलो भएका थिए, हिउँ परेकाले अब राम्रो हुने भयो।’

हिउँसँगै वर्षा भएपछि हिउँदे बालीनाली सप्रिने आशाले किसानमा उत्साह छाएको छ। जुम्लाका पातारासी, काञ्जीरोवा, भुरीचुला र चिमारामालिका हिमालसमेत सेताम्मे देखिएका छन्। ‘केही दिनअघिसम्म काला हिमाल देखेर मनै खस्रक्क भएको थियो। हिउँ परेपछि हिमाल हिमालजस्ता देखिन थाले’, अर्का किसान भैरबहादुर भण्डारी भन्छन्।  

यसअघि माघ तेस्रो साता कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत जिल्लामा हिमपात भएको थियो, तर सन्तोषजनक थिएन। यसपटक सोचेजस्तै हिउँ परेको छ। यसले बालीमा रोगकिराको प्रकोप कमी हुने र उत्पादन बढ्ने किसानहरू बताउँछन्।

यो हिमपातले जमिनमा डेढ महिनासम्म चिस्यान बस्ने कृषि विज्ञहरू बताउँछन्। यतिबेला परेको  हिउँले किसानमा उत्साह ल्याएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्।

रोग किराको संक्रमण हुने, स्याउ नफल्ने र कालो तुषारोले स्याउ सुकाउने समस्या थियो। हिउँले चिस्यान प्राप्त हुने भएकाले स्याउको गुणस्तरीय उत्पादन हुने प्रमुख देवकोटा बताउँछन्। उनी भन्छन्, ‘३ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अधिकांश बाली सुख्खा पाखो बारीमा लगाइन्छ। हिउँदे बालीका रुपमा रहेको जौ १ हेक्टर क्षेत्रफलमा १ हजार ५ सय केजी उत्पादन हुन्छ भने गहुँ प्रति हेक्टर २ हजार १ सय केजी उत्पादन भइरहेको छ।’

कृषि विकास कार्यालयका अनुसार जुम्लाको खेतीयोग्य जमिन हेक्टर २४ हेक्टर रहेको छ, जसमध्ये २१ हजार हेक्टर क्षेत्रफल पाखोबारीले समेटिएको छ। जुम्ला समुद्र सतहदेखि २ हजार १ सय वर्गमिटरभन्दा उचाइमा अवस्थित छ।

प्रकाशित: २१ फाल्गुन २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App