२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

फाइल तस्बिर

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्। तीन दिनयता बेलका नगरपालिका–९ स्थित सेतीखोला जंगल पसेको हात्तीको हुलले दलित वस्तीमा पसेर शनिबार तीन घर भत्काएपछि आतंक मच्चिएको हो।  

सुनसरीको बाराह क्षेत्र जंगलबाट कोसी टप्पु आरक्षण केन्द्र हुँदै बेलका छिरेको समूहमा दुई दर्जनभन्दा बढी हात्ती रहेको र पूरै गाउँले आतंकित भइरहेको स्थानीय युवा भरत घिमिरेले बताए।

उनका अनुसार हात्तीको ठूलो हुल गाउँ पसेर घर भत्काउनुका साथै बालीनाली नष्ट गर्न थालेपछि स्थानीयमा ‘राति निन्द्रा न दिन भोक’को अवस्था सिर्जना भएको छ। हात्तीबाट जोगिन स्थानीय गुल्मका सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी र सबडिभिजन वन कार्यालयका वन रक्षकसहितको टोलीमा स्थानीय गाउँले पनि जमात कसेर सुरक्षा गरिरहेको  घिमिरेले बताए।  

शुक्रबार दिउँसोदेखि गाउँनजिकै जंगलमा देखापरेको हात्तीको समूहले स्थानीयको घर, गोठ भत्काउनुका साथै बालीनाली नष्ट गर्न थालेको अर्का स्थानीय मोहन लुईटेलले बताए। उनका अनुसार अहिलेसम्मकै धेरै संख्यामा हात्ती गाउँ पसेको हो।

यसअघि पनि हात्ती गाउँ छिर्ने गरेको तर, यत्ति ठूलो हुल बाँधेर लस्करै आएको हात्तीको जमात पहिलो पटक देखिएको लुइँटेलले बताए। हात्तीको हुलले गाउँमा आतंक सिर्जना भएर स्थानीय घर छाडेर भाग्न थालेको पनि लुइँटेलले बताए।

डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत रामभगत यादवका अनुसार ५-६ वटा छावासहित आएको ठूलो संख्याको हात्तीको हुल बेलका– ८ र ९ वडास्थित माछापुछ«े सामुदायिक वनक्षेत्रमा देखिएको छ। हात्तीको ठूलो समूह जंगलमा देखिएपछि स्थानीयलाई घाँस दाउरा र गोठालो गर्न जंगलमा नजान आग्रह गरिएको यादवले बताए। कुनै पनि बेला अप्रिय घटना हुनसक्ने भएकाले नगरपालिकाले पनि घाँस दाउरा र गाईवस्तु चराउन जंगल नपस्न सतर्क गराएको छ।  

बेलका नगरप्रमुख अशोक कार्कीले ९ नं. वडा सेतीखोला आसपास जंगलमा २४ वटाको हात्ती समूह हुल बाँधेर हिँडिरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बताए। स्थानीयको सुरक्षार्थ नगरपालिकाले इलाका प्रहरी, सशस्त्र प्रहरी बेसक्याम्प र सबडिभिजन वन कार्यालय रामपुर र मैनामैनीका वनरक्षक परिचालन गरिएको मेयर कार्कीले बताएका छन्।हात्तीको समूहलाई सुरक्षित तवरले नगरपालिकाभन्दा बाहिर निकाल्ने उपायका लागि प्रशासन, कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रका वार्डेनसँग छलफल थालेको पनि मेयर कार्कीले बताएका छन्।  

वार्डेन रमेश यादवले हात्तीको समूह बेलका छिरेको पुष्टि गर्दै सो समूह भारतबाट नेपाल प्रवेश गरेको यो हात्तीको समूह झापा, मोरङ हुँदै १६ गते सुनसरीको इनरुवामा देखा परेको बताए। इनरुवाबाट बाराहाक्षेत्र जंगल हुँदै १७ गते राति चताराघाटस्थित सप्त नदी तरेर बेलका छिरेको उनले बताए। पहिला २÷३ वटाको समूह मात्र आउने गरेको हात्ती योपटक ठूलो संख्यामा हुल बाँधेर आएको वार्डेन यादवले बताएका छन्। माउ, बच्चा र भालेसमेत परिवारै हिड्ने यस्तो हात्तीले खासै क्षति भने नगर्ने वार्डेन यादव बताउँछन्।

‘बच्चा र परिवारसहित ठूलो जमातमा हिड्ने यस्तो हात्ती समूहले स्थानीय समुदायलाई खासै क्षति गर्दैन’ वार्डेन यादवले सचेत गराए ‘खानै पाएन भने, र जिस्कायो, आक्रमण ग¥यो भने चाहिँ ध्वस्त पार्ने संभावना हुन्छ। त्यसैले सुरक्षा गर्ने नाममा कसैले आक्रमण नगर्नु होला।’ यादवले हात्तीको आक्रमणबाट जनधनको क्षति भए क्षतिपूर्ति गर्ने कानुनमा रहेको बताए।

उनका अनुसार अन्न बाली नष्ट गरेमा वा घर, गोठ भत्काएमा प्रत्येक घटनाको १० हजार क्षतिपूर्ति पाउने व्यवस्था छ। त्यसैगरी अंगभंग भएकालाई २ लाख तथा मान्छे मारे १० लाख क्षतिपूर्ति पाउने व्यवस्था पनि वन ऐनमा रहेको वार्डेन यादवले बताएका छन्। उनले ककसको घर भत्काएको छ, त्यसको अनुगमन गरी क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउन सकिने पनि बताएका छन्।

पूर्वी क्षेत्रमा बर्सेर्नि हात्तीले जनधनको क्षति गर्दै आएको भन्दै त्यसको दीर्घकालीन व्यवस्थापन गर्ने योजनाका साथ केहीदिनअघि मुख्यमन्त्री केदार कार्कीको साताव्यापी हात्तीमैत्री पैदलयात्रा सम्पन्न भएको थियो।

झापाको बाहुनडाँगीबाट सुरु उनको पैदलयात्रा उदयपुरको कटारी नगरपालिका १ बेलसोत पुगेर समापन भएको थियो। सुनसरीदेखि कोसी टप्पु हुँदै सप्त नदी तरेर उदयपुरको बेलका नगरपालिका–२ भागलपुर आएका उनी त्यहाँबाट चौदण्डीगढी नगरपालिका ५ आम्बासी चोकसम्म पैदलयात्रा हिँडेका थिए।

त्यहाँसम्म आईपुग्दा दुवै खुट्टा सुन्निएरपछि चिकित्सकाले हिँड्न मनाही गरेका थिए। त्यपछि बाँकी यात्रा मोटर चढेर सकाएका थिए। फागुन १६ गते अन्तिम यात्रा उदयपुरको पश्चिमी भेग कटारी–१ बेलसोत पुगेर समापन गरेकै दिनदेखि यति ठूलो हात्तीको समूह उदयपुर पसेपछि अहिले कार्की व्यंग्यको पात्र बन्न पुगेका छन्।

यात्रा सकिएकै दिन सुनसरीदेखि बेलका छिरेर आतंक मच्चाउन थालेपछि हात्ती ‘मुख्यमन्त्रीले पठाएको’ ठट्टा गर्न थालेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App