१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अन्तत: भयो ४३ जना सहसचिवको सरुवा

सामान्य प्रशासन मन्त्री र सचिवबिचको खटपटले गर्दा रोकिएको ४३ जना सहसचिवको सरुवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार बिहीबार दिउसो मुख्यसचिवले प्रमाणीकरण गरेको सहसचिवहरूको सरुवाको सूचि मन्त्रालयलाई प्राप्त भएको छ।

ती कर्मचारीका अनुसार गत फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकमा सामान्य प्रशासन मन्त्री अनिता देवीले सहसचिवको सरुवा सूचि लगेकी थिइन। तर लामो समयसम्म सहसचिवको सरुवा सूचिलाई मुख्यसचिव बैकुण्ठ अर्यालले प्रमाणीकरण गरेका थिएनन्।

मुख्यसचिवले सहसचिव सरुवा सूचिलाई प्रमाणीकरण नगर्दा एक महिना भन्दा लामो समय देखि सरुवा पर्खेर बसेका सहसचिवहरू मन्त्रालयको ‘बरण्डा’मा थन्किएका थिए। पछिल्लो समय सामान्य प्रशासन मन्त्री देवी र मन्त्रालयका सचिव विनोद प्रकाशसिंहबिच खटपट हुँदै आएको छ। यही खटपटका कारण सहसचिवको सरुवा केही दिनका लागि पर सरेको थियो।

यस पटकको सरुवामा उपसचिवबाट सहसचिवमा बढुवा भएकाहरूको व्यवस्थापन गरिएको छ भने केही सहसचिवहरूलाई सामान्य मन्त्रालयबाट गृहमा लगिएको छ। केहीलाई काठमाडौँबाट काठमाडौँ बाहिरका विभिन्न कार्यालयमा पुर्‍याइएको छ। उपसचिवबाट सहसचिवमा बढुवा भएका रामबाबु पुरीलाई हेटौडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राष्ट्रिय दलित आयोगमा पुर्‍याइएको छ। दलित आयोगमा सहसचिवहरू खासै जान मन गर्दैनन्।

ऋषि आचार्यलाई संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय लगिएको छ भने अर्जुन गौतमलाई खानेपानी मन्त्रालयबाट मधेस प्रदेशको मुख्य मन्त्री कार्यालयमा सरुवा गरिएको छ। यसैगरी विनोद लामिछानेलाई संघीय मामिला मन्त्रालयबाट मन्त्रिपरिषदबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ भने विष्णु पौडेललाई संघीय मामिला मन्त्रालयबाट मधेस प्रदेशको मुख्य मन्त्रीको कार्यालयमा लगिएको छ। यसैगरी नारायण कोइरालालाई सङ्घीयबाट गृह तथा गोपाल कोइरालालाई सङ्घीयबाट सुदुरपश्चिम प्रदेशको मुख्य मन्त्री कार्यालयमा सरुवा गरिएको छ।

मन्त्रालय स्रोतका अनुसार सुरुमा ३३ जना सहसचिवको सूचि तयार गरिएको थियो। पछि सहसचिवको सरुवा सूचिमा थपघट गर्दै जाँदा ३३ बाट ४३ जना पुर्‍याइएको हो। स्रोतले भन्यो, प्रधानमन्त्री कार्यालयबाट प्रमाणीकरण भई नआउँदासम्म सहसचिवको सूचिमा नाम थप घट गर्ने काम भइरहेको थियो।

प्रकाशित: १७ फाल्गुन २०८० २०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App