२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सुरक्षा थ्रेटमा ‘सरकारी कर्मचारी’

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

बर्दियामा दुई साता भित्र दुई सरकारी कर्मचारीमाथि आक्रमण भएको छ। विगत केही दिन देखि कर्मचारीमाथि भइरहेको भौतिक आक्रमणले सरकारी कर्मचारी कार्यालयसम्म जान समेत डराइरहेका छन्।

पछिल्लो समय कर्मचारीमाथि कालो मोसो दल्ने र कुटपिट गर्ने कार्यले उनीहरु निरुत्साहित भएका हुन्।

बढैयाताल गाउँपालिका शिक्षा शाखाका प्रमुख बिष्णु प्रसाद ढकालमाथि बुधबार दुर्व्यवहार भयो। घर देखि कार्यालय जाने क्रममा बढैयाताल गाउँपालिका–३ भोलागौडी स्थित अज्ञात समूहले ढकालमाथि साङ्घातिक आक्रमण गरे। बढैयातालको घटनाको बारेमा अधिकारी पुष्टि भएको छैन।

दुर्व्यवहार गर्ने अखिल (क्रान्तिकारी) ६ नम्बर प्रदेश समिति (कर्णाली) ले सामाजिक संजाल मार्फत जिम्मा लिएको छ। विद्यालयमा खरिद देखि अनुदान र अनियमितता गरेको आठ बुँदे गल्ती औँल्याउँदै कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ।

ढकालमाथि भएको साङ्घातिक आक्रमणको कर्मचारीले विरोध गरेका छन्। घटनामा संलग्न जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही नगरेसम्म अत्यावश्यक सेवा बाहेक पालिकाले दिने सेवा अनिश्चितकालको लागि बन्द गरिएको विज्ञप्ति कर्मचारीले बढैयाताल गाउँपालिकाका अध्यक्षलाई बुझाएका छन्।

त्यसैगरि गत माघ १९ गते ठाकुरबाबा नगरपालिकामा कार्यरत सब-इन्जिनियर प्रदिप कुमार शाह कुटिएका थिए।

बिहान पौने नौ बजे कोठा बाहिर निकाली कुटपिट गरिएको शाहले बताए। ठाकुरबाबा नगरपालिका–१ का प्रसुराम थारुले कुटपिट गरेको खुलेको छ।

घटनाको एक दिन अघि प्रसुराम थारु ठाकुरबाबा नगरपालिका–१ वडा कार्यालयमा छोराको नागरिकताको लागि सिफारिस लिन पुगेका थिए। त्यस दिन वडा सचिव बिदामा थिए।

‘कुर्सीमा बसिरहेको अवस्थामा कर्मचारीले काम नगर्ने भन्दै थारुले चर्को स्वरमा हो हल्ला गर्न थालेका थिए’ शाहले भने,‘त्यसपछि म सब इन्जिनियर हो, मेरो काम गर्ने फिल्ड अर्कै हो, एक छिन बस्नुस् अहिले अध्यक्ष सर आएपछि तपाईँको काम हुन्छ भने, अर्को दिन बिहान कोठामा बसेको बेला बाहिर निस्कनुस् काम छ भनेर भन्नुभयाे। कोठा बाहिर निस्कँदा म माथि आक्रमण भयाे।’ उनले भने। शाहका अनुसार उनकाे टाउको, पिठिउँ र छातीमा चोट लागेको छ। 

प्रहरीले कुटपिटमा संलग्न थारुलाई नियन्त्रण लिइसकेको छ। कुटपिट गर्ने व्यक्तिलाई के कति कारबाही हुने विषयमा सरकारी वकिल कार्यालय र प्रशासन कार्यालयमा जाँदा चित्त बुझ्दो जवाफ नपाएको शाहले जानकारी दिए।

बिना गल्ती कुटपिटपछि गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने पीडित शाहको माग छ। बढैयाताल घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक प्रवीण धितालले बताए।

कानुन विपरीत काम गर्ने जोकोहीलाई कानुनी सजायको दायरामा ल्याउनु पर्ने बताउँदै एक सर्वसाधारणले भने ‘कर्मचारी वा जोकोहीले अनियमितता वा गलत नियतको काम गरे कानुनी कारबाही गर्ने विभिन्न निकायहरू र बाटोहरु छन्। तर, कानुनी कारबाही नगरेर भौतिक रुपमा कालो मोसो दल्ने र कुटपिट गर्ने कतिको जायज हो ?  प्रश्न चिन्ह खडा भएको छ।’

प्रकाशित: १६ फाल्गुन २०८० १९:२८ बुधबार