२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारले व्यक्तिगत पत्र पठाएको भन्दै मिटरब्याजी पीडित असन्तुष्ट, अर्को पत्र कुर्दै

सरकारले मिटरब्याज पीडितका समस्यालाई गम्भीर रूपमा नलिएको पाइएको छ। यसको छनक मिटरब्याजी पीडितका प्रतिनिधिहरूले दिएका छन्।

गृह मन्त्रालयले शनिवार संस्थागत रूपमा भन्दा पनि व्यक्तिगत रूपमा पत्र पठाएपछि मिटरब्याजीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रालयले त्यो पत्र मार्फत मिटरब्याजी पैदल यात्रा र प्रदर्शनबारे बुझ्ने प्रयास गरेको थियो। यो प्रयासप्रति मिटरब्याजीहरु झनै संशकित छन्।

‘हामीलाई संस्थागत रूपमा वार्ताका लागि आऊ भनेको होइन, एक जना व्यक्तिलाई पत्र लेखेर तपाईँहरूको आन्दोलनबारे जानकारी दिनुहोस् मात्र भनेको हो। त्यसैले हामी अहिले वार्तामा जाने अवस्थामा छैनौ’, मिटरब्याज तथा ठगीविरुद्ध मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले  नागरिकन्यूजसँग भने, ‘शनिवार पठाइएको व्यक्तिगत पत्रका जवाफ व्यक्तिगत रूपमै दिनेछौँ। मौखिक रूपमा त्यसको जवाफ दिइसकेका पनि छौँ।’

उनका अनुसार यस्तो पत्र किन लेखेको भनेपछि मन्त्रालयले आफूहरूलाई त्यो पत्र सार्वजनिक नगर्नुहोला, हामी वार्ताका लागि आधिकारिक र संस्थागत रूपमा पत्र पठाउँछौ भनेर जानकारी दिएको छ।

‘त्यसैले अहिले नै वार्तामा जाने कुनै कुरा भएको छैन’, नविनले भने। उनका अनुसार समिति आधिकारिक अर्को पत्रको पखाइमा छ। वार्ताका लागि औपचारिक र संस्थागत पत्र आयो भने मात्र वार्ता सम्भव हुने नविनले बताए। 

मिटर व्याज पीडितहरू २३ दिन पैदल हिँडेर शुक्रवार राजधानी आइपुगेका छन्। पटक–पटक आफ्ना समस्या र मागहरू राख्दा समेत सरकारबाट सुनवाइ नभएको गुनासो उनीहरूको छ।

शनिवार मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले पत्र लेखेका थिए। उनले मिटर ब्याजीको पैदल यात्रा र प्रदर्शनले मन्त्रालयको ध्यानाकर्षण भएको र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन समितिका अध्यक्षलाई पत्र लेखेका थिए।

करिब ७ सय मिटरब्याजी पीडितहरू २३ दिन पैदल हिँडेर सङ्घीय राजधानी काठमाडौँ आएका छन्। उनीहरूले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित: १३ फाल्गुन २०८० १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App