१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

बाल विवाह रोकथाम तथा नियन्त्रण अभियानमा सक्रिय दलित सञ्जालका किशाेरकिशोरी। तस्बिर : नागरिक।

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्। उनीहरू बाल विवाहले पारेको असरका बारेमा अभिभावकलाई बुझाउँदै यसबाट बच्नका लागि सुझाव र सल्लाह पनि दिने गर्छन् र बाल विवाह रोकथाममा लाग्न आग्रह गर्छन्।

कनकासुन्दरी गाउँपालिका– ६  लार्ज गाउँकी सञ्जाल सदस्य धनदेवी सुनार बाल विवाहले हिंसा फैलिइरहेको बताउँछिन्। उनले भनिन्, ‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्व भएको हुँदैन। त्यसै अवस्थामा बच्चा जन्मिन्छन्। आमा र बच्चाको अवस्था जोखिम हुने खतरा बढी हुन्छ। कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले कमजोर हुने गर्छन् शैक्षिक स्तर उठेको हुँदैन।’

उनी गाउँबस्तीमा बाल विवाहबारे जागरण कुरा गर्छिन्। गाउँमा बाल विवाहका कारण निम्तिएका विकृतिका बारेमा अभिभावकलाई बुझाउँछिन्। बाल विवाहबाट हुने हानि, कानुनी प्रावधान तथा सजायबारे सर्वसाधारणलाई सचेतना दिन थालेको उनी बताउँछिन्। सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्र्याउन आग्रह गर्छिन्।’

अहिले दलित सञ्जालका किशोरी सामाजिक कुरीतिका विषयमा समेत आवाज उठाउन थालेका छन्। उनीहरू बाल विवाह, छाउपडी प्रथाका बारेमा चेतना फैलाउँछन्। सडक नाटक, छलफल र घरदैलो कार्यक्रमका माध्यमबाट अभिभावकलाई सचेत गराइरहेका छन्।

किशोरीहरुको यो अभियानले सर्वसाधारणमा जनचेतना बढिरहेको स्थानीय बताउँछन्। कनकासुन्दरी– ६ वड टोलमा बाल विवाहमा निकै कमी आएको पाइएको छ। लालसरा कामीले पुस्ता बदलिँदै जाँदा सोचविचारमा परिवर्तन पनि आउँदै गरेको उनीहरु बताउँछन्।

लालसराले भनिन् ‘कतिपय हाम्रै साथीको विवाहका कुरा रोकेका छौं। रोक्छौं पनि।’ उनले आफूहरूको अभियानमा वडा कार्यालय र प्रहरीले पनि सहयोग गरिरहेको बताइन्।

बुबा पुस्ताले अब समयसँगै परिवर्तन हुँदै जानुपर्ने धारणा राख्न थालेका छन्। छोरा पुस्ता वा हाम्रो पुस्ताले सबै विकृतिजन्य क्रियाकलाप अन्त्य भएको चाहन्छन्। पुस्ता बदलिँदै जाँदा समाजमा जरा गाडेर बसेको कुरीतिमा पनि सुधार हुँदै जान थालेको छ।

गर्भममा छँदै छोरी दिने चलन हटेको छ। लालसराले भनिन्, ‘अब समाजमा सचेतना फैलिइसकेको छ। पहिले सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने थियो। अहिले उमेर नपुगी विवाह गर्न मिल्दैन भन्न थालिएको छ।’

समाजको सोच बदल्न सके बाल विवाह रोकिने आशा पलाएको लालसराले बताइन्। उनले भनिन्, ‘अब सबैले साथ र सहयोग गर्नुपर्छ। यसबाट मात्रै सभ्य समाज निर्माण हुने छ।’

प्लान नेपालको आर्थिक सहयोग तथा क्याड नेपाल जुम्लाको सहकार्यमा सञ्चालित यस सञ्जालले किशोरीमार्फत समाजको सोचमा परिवर्तन ल्याएको स्थानीय बताउँछन्।

दलित सञ्जालकी अर्की सदस्य वैशाकी वडले भनिन्, ‘अब समाज परम्परागत रुढिवादी मानसिकताले होइन, नयाँ विचार, नयाँ सोच र नयाँ नयाँ अनुभव बटुलेकाहरूले चलाउँछन् भन्ने उदाहरण हामी दिन चाहन्छौँ।’

गाउँबस्तीमा किशोरीको सक्रियता बढेपछि कुरीतिजन्य क्रियाकलाप न्यूनीकरण भएको वैशाकीले बताइन्। ‘बाल विवाह रोक्नका लागि सबैभन्दा ठूलो कुरा जनचेतना रहेको दलित सञ्जालकी अध्यक्ष तारा सार्कीले बताइने। उनले भनिन्, ‘हामी जनचेतना फैलाइरहेका छौं। यसका लागि वडा १ देखि ८ सम्म दलित सञ्जाल गठन गरी अभियान नै चलाइरहेका छौं ।’ उनले भनिन्, ‘जसरी पनि बाल विवाह रोकिनुपर्छ भन्ने हाम्रो माग र आग्रह छ।’

प्रकाशित: १० फाल्गुन २०८० ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App