१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सुविधासम्पन्न प्रहरी कार्यालयको भवन अलपत्र, टहरामै काम गर्छन् कर्मचारी

जिल्लाको विकट पहाडी गाउँपालिका लिमचुङबुङमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणको सकिएको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। गाउँपालिकाको केन्द्र बाराहा नजिकै २ नं. वडामा निर्मित आधुनिक र सुविधा सम्पन्न भवन सञ्चालनमा आउन नसकेको हो।

संघिय सरकार, सहरी विकास तथा भवन निर्माण आयोजना विराटनगरले बनाएको अढाईतले १२ कोठे पक्की भवनको भुई तलामा ८ र पहिलो तलामा ४ कोठा छन्। भुई तल्ला प्रशासनिक कामकाज, थुनुवा कक्ष र व्यारेक प्रयोजनमा उपयोग गरिने छ भने पहिलो तला कार्यालय प्रमुखको आवास प्रयोजनमा लगाइने प्राविधिक इस्टीमेट छ।

मूल्य अद्धिबृद्धि कर (भ्याट) बाहेक १ करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैंयामा निर्माण गर्ने गरी ०७६ असार ५ गते भुस्नाम्छा निर्माण सेवा गाईघाटले सम्झौता गरेर भवन निर्माण गरेको हो। दुईवर्ष अर्थात ०७८ असार पहिलो साताभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि कोविड कहरका कारण ६÷६ महिना २ पटक गरी १ वर्ष थपिएको म्यादभित्रै सम्पन्न भएको थियो। कम्पाउण्ड वाल, घेराबेरा र प्रवेशद्वार (गेट) सबै व्यवस्थित बनाईसकेको तथा रंगरोगन गरिसकेको भवन सञ्चालन नहुँदा इलाका प्रहरी कार्यालय लिमचुङबुङ भने टहरामै राखेर चलाउनुपर्ने बाध्यता छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले भवन सञ्चालन नहुनुुको कारण प्राविधिक समस्या भएको हुनसक्ने बताए। आफु सरुवा भएर आउँदै भवन निर्माण भईसकेको उनले बताए। तर, प्रहरीलाई हस्तान्तरण गर्न बाँकी भएकाले सञ्चालन नभएको हुनसक्ने उनले बताए। 

गाउँपालिका कार्यालयदेखि झण्डै १ किलोमिटर दूरी उत्तरमा निर्मित नयाँ भवनसम्म पुग्न बाराहा–ताम्लीछा खण्डको सडकदेखि ५ सय मिटर नयाँ ट्र्याक गाउँपालिकाकै लगानीमा निर्माण गरिएको छ।

भवनका लागि आवश्यक जमिन खरिद र सडक निर्माणसम्मको काम गाउँपालिकाकै बजेटबशाट प्रहरीलाई उपलब्ध गराएर बनाइएको भवन अहिलेसम्म सञ्चालन नहुनु दुःखद भएको स्थानीय बताउँछन्। भवन बनाउन जमिन खरिददेखि आउजाउ गर्न सडक निर्माणसम्मको लगानीमा गाउँपालिकाले गरिदिएको अधिकृत गुरुङले बताए।

यता सञ्चालनमा नआएका कारण नवनिर्मित भवन ड्वाङड्वाङ्ती रित्तो बसिरहँदा उता इलाका प्रहरीलाई कार्यालय भवन अभावमा स्थापनाकालदेखि भुईतले टहरामा बसेर काम चलाउनु परेको छ। स्थापनादखि ३ नं. वडाको महिला भवनमा सञ्चालन हुँदै आएको कार्यालय नयाँ भवनमा सर्न नपाउँदा ढुंगामाटोको कच्ची टहरा वडासँग भाडामा लिएर बस्नु परेको हो।

प्रहरी नायव निरीक्षक (सई) कमाण्डमा २६ जना प्रहरी राख्ने स्वीकृत दरबन्दी रहेको इप्रका लिमचुङबुङमा जनशक्ति अभावमा एक चौथाई प्रहरी मात्र कार्यरत छन् भने कमाण्ड गर्ने जिम्मा सहायक प्रहरी निरीक्षक (असई)लाई दिइएको छ।

निमित्त इन्चार्ज श्याम गुरुङले इप्रकालाई भवनको अत्यन्त खाँचो छ, तर, निर्माण गर्दा केही मापदण्ड नपुगेको पाइएपछि हस्तान्तरण हुन बाँकी रहेको बताए। सातादिनअघि मात्र प्रहरी प्रधान कार्यालयको इन्जिनियरिङ महाशाखाको प्राविधिक टोली आएर भवनको स्थलगत अनुमगन गरेर फर्केको उनले बताए। जिल्ला प्रहरी प्रमुखसहित पुगेको टोलीले नयाँ भवन बनाउँदा प्रहरी भवन संहिता अनुसार मापदण्ड नपुगेको निश्कर्ष निकाल्दै मापदण्ड पुरा गर्न ठेकेदारलाई निर्देशन दिएर फर्केको उनले बताए।

गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बनिसकेको भवनमा के के मापदण्ड पुगेको छैन, छिट्टै पुरा गरेर नयाँ भवन सञ्चालनमा ल्याउन पहल भईरहेको बताए। बनेको यतिका समयसम्म प्रयोगमा नआउनु दुःखलाग्दो कुरा भएको भन्दै अध्यक्ष राईले छिटोभन्दा छिटो इप्रकालाई टहराबाट नयाँ भवनमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको पनि बताएका छन्।

अध्यक्ष राईले सुरुमा जमिन नहुँदा समयमै भवन बनाउन नसकेको स्मरण गर्दै धेरै कोशिसपछि स्थानीयबाट जमिन खरिद गरेर गाउँपालिकाले प्रहरी भवन बनाउन सफल भएको बताए। भवनस्थलसम्म जाने सडक पनि गाउँपालिकाले नै निर्माण गरिदिएको राईले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले प्रधान कार्यालयको निर्देशनमा नयाँ भवन हस्तान्तरण नलिएको बताए। उनका अनुसार प्रहरीको इन्जिनियरिङ विभागको टोलीले अनुगमन गर्दा नवनिर्मित भवनमा खानेपानी धारा जडान नभएको र वर्षायाममा बाहिरबाट पानी भित्रसम्म छिर्ने (सिपेज) समस्या देखिएको छ।

यस्ता केही प्राािवधिक मापदण्ड नपुगेको पाइएकाले भवनको स्वामित्व ग्रहण गर्न बाँकी रहँदा सञ्चालन हुन नपाएको एसपी थापाको भनाइ छ। उनले बाँकी मापदण्ड पुरा गर्नेगरी सबै काम भईरहेकाले यही फागुन तेस्रो साताभित्र नयाँ भवनबाट इलाका प्रहरी कार्यालय सञ्चालनमा आउने बताएका छन्।

निर्माण कम्पनी प्रतिनिधि हेमराज दाहालले भने २ वर्षअघि तोकिएकै म्यादभित्रै भवन बनाई सकेर सहरी विकास आयोजना कार्यालय विराटनगरलाई हस्तान्तरण गरिसकेको बताए। उनले भवन बनाएको भुक्तानी पनि सबै लिइसकेको बताउँदै के कारण सञ्चालनमा आएन भन्ने बारे जानकारी नभएको बताए।

प्रकाशित: ८ फाल्गुन २०८० ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App