प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय व्यवस्था र संघीय संरचनामाथि प्रश्न उठाउने गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्वका कमजोरीलाई व्यवस्थामाथि दोषारोपण गर्नु गलत प्रवृत्ति भएको बताएका हुन्।
नेता आङ्देम्बेले संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको शासकीय स्वरूपमाथि भइरहेको आलोचना र आक्रमणको प्रयासले सकारात्मक सन्देश नदिने उल्लेख गरे। नेता आङदेम्बेले पर्याप्त अभ्यास र गहिरो समझबिना वर्तमान व्यवस्थामाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताको संकेत हुने बताए।
उनका अनुसार सात प्रदेशसहित तीन तहको सरकारको संरचना कुनै आकस्मिक निर्णयको परिणाम नभई लामो राजनीतिक संघर्ष, जनआन्दोलन र नागरिक बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। यस्तो उपलब्धिलाई क्षणिक आवेग, असन्तुष्टि वा राजनीतिक स्वार्थका आधारमा कमजोर पार्न नहुने उनको भनाइ थियो।
आङ्देम्बेले अहिलेको आवश्यकता व्यवस्था परिवर्तनको बहस नभई विद्यमान संरचनालाई प्रभावकारी बनाउँदै जनतालाई लोकतन्त्रको प्रत्यक्ष अनुभूति गराउने रहेको स्पष्ट पारे।
उनले संविधान र संघीय व्यवस्थालाई असफल देखाउने प्रयास नगरी यसको सफल कार्यान्वयनमार्फत विकास र सुशासन स्थापित गर्न सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।
उनले वर्तमान संविधानलाई ऐतिहासिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै यसमाथि अनावश्यक विवाद सिर्जना गर्नु मुलुकको स्थायित्वका लागि हितकर नहुने चेतावनी समेत दिए।
प्रकाशित: १६ असार २०८३ १२:२३ मंगलबार



-600x400.jpg)

