१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अर्थ

७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड ४२ लाख राजस्व

सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ५० हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागले आज सार्वजनिक गरेको विवरणअनुसार १९० टोलीका एक हजार ६३३ जनालाई आरोहण अनुमति प्रदान गरिएको हो। विभागका सूचना अधिकारी सुरज घिमिरेले अनुमति लिनेमा एक हजार २५३ पुरुष र ३८० महिला रहेको जानकारी दिए।

विभागले ती ५० हिमाल आरोहणको अनुमति प्रदान गरेबापत २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त राजस्व अगस्ट अन्तिम हप्तादेखि उठ्न थालेको विभागले जनाएको छ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका आरोही छन्। विभागका अनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रसियाका १२४, बेलायतका ११२, जर्मनीका १०२, नेपालका ९०, स्पेनका ५६, स्विट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक रिपब्लिकका ४२ आरोहीले अनुमति लिएका छन्।

अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै आरोहीको रोजाइमा मनास्लु परेको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। जसमा ३७३ पुरुष र १२७ महिला छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन्। उनीहरूबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व संकलन भएको छ।

विभागका अनुसार हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोहीले अनुमति लिएका छन् भने उनीहरूबाट ७९ लाख ७४ हजार २० रुपैयाँ रोयल्टी संकलन भएको छ।

धौलागिरि-१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन्। जसबाट विभागले ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन गरेको छ।

मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् र उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ।

यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमालका लागि पनि आरोहण अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ २०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App