१६ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

संसदलाई प्रभावकारी, उत्तरदायी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई समयानुकूल, प्रभावकारी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको बताएका छन्। 

संसद दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको मुख्य आधार संवाद भएको उल्लेख गर्दै संसदलाई जनताको सार्वभौम इच्छाको सर्वोच्च मञ्चका रूपमा अझ सुदृढ बनाउनुपर्ने बताएका हुन्। 

अध्यक्ष दाहालले नेपालको संसदीय इतिहास सात दशकभन्दा लामो संघर्ष, त्याग र लोकतान्त्रिक आन्दोलनबाट निर्माण भएको स्मरण गराउँदै संसद केवल कानुन निर्माण गर्ने संस्था मात्र नभई राष्ट्रिय एकता, सामाजिक न्याय, समावेशीकरण र लोकतान्त्रिक संस्कृतिको संवाहक भएको बताए। 

उनले संसदबाट समयमै आवश्यक ऐन–कानुन निर्माण, कार्यपालिकामाथि प्रभावकारी निगरानी तथा जनताका समस्याको समाधानमा अझ गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। युवाहरूको रोजगारी, शिक्षा, उद्यमशीलता, डिजिटल अवसर तथा सुशासनप्रतिको अपेक्षालाई संसदले नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो। 

प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र साइबर सुरक्षाजस्ता विषयमा संसदले समयानुकूल कानुनी ढाँचा निर्माण गर्नुपर्ने अध्यक्ष दाहालले बताए। उनले संसद स्वयं पनि डिजिटल संसदको अवधारणातर्फ उन्मुख हुनुपर्ने धारणा राखे। 

संविधान संशोधनका बहसहरू राष्ट्रिय हित, संघीयताको मर्म र जनताको अधिकार अझ सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनउत्तरदायी शासनप्रतिको प्रतिबद्धता थप मजबुत बनाउन सबैलाई आह्वान गरेका छन्।  

प्रकाशित: १६ असार २०८३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App