१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

होमवर्क नगरेको निहुँमा विद्यार्थीमाथि कुटपिट, कारबाही गर्न अभिभावकको माग

रौतहटमा एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

रौतहटको सदरमुकाम गौरस्थित बाल निकेतन बोर्डिङ स्कुलमा  कक्षा ५ मा अध्ययनरत दुई जना विद्यार्थी माथि पाइपले निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको हो।

उक्त बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत दुई जना विद्यार्थी लाई विद्यालयका प्रिन्सिपलकी छोरीले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ।

होमवर्कको निहुँमा विद्यार्थी माथि कुटपिट गर्ने व्यक्ति विद्यालयकी नियमित शिक्षिका समेत नरहेको पीडितको भनाइ छ।

पीडित विद्यार्थीका दुवै खुट्टामा पाइपले हानेको कारण रातो डाम तथा चोट देखिएको छ। शारीरिक चोटसँगै घटनापछि बालबालिका मानसिक रूपमा समेत त्रसित बनेको परिवारजनको भनाइ छ।

विद्यालयमा यसअघि पनि विद्यार्थीमाथि दुर्व्यवहार र शारीरिक दण्ड दिने प्रवृत्ति रहेको आरोप अभिभावकहरूले लगाएका छन्।

घटनाप्रति आक्रोश व्यक्त गर्दै अभिभावकहरूले विद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गरेका छन्। बालबालिकालाई अनुशासनको नाममा शारीरिक यातना दिनु निन्दनीय कार्य भएको उनीहरूको भनाइ छ। घटनापछि आक्रोशित अभिभावकसँग विद्यालय प्रशासनले माफी समेत मागेको छ।

नेपालको प्रचलित कानुन तथा बाल अधिकारसम्बन्धी व्यवस्था अनुसार विद्यालयमा शारीरिक दण्ड पूर्ण रूपमा निषेध गरिएको छ।

यस्ता गतिविधिले बाल अधिकारको गम्भीर उल्लङ्घन गर्नुका साथै विद्यालयलाई सुरक्षित सिकाई स्थल बनाउने राज्यको नीतिमाथि समेत प्रश्न उठाउने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यता गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भट्टराईले घटनाबारे आफूलाई सोमबार मात्र जानकारी प्राप्त भएको बताउँदै विद्यालयमा अनुगमन गरी यथार्थ छानबिन गरिने प्रतिक्रिया दिए।

‘घटनाको सत्य तथ्य बुझेर दोषी देखिए कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने।

बालबालिकाको संरक्षण र सम्मानजनक शिक्षाको अधिकार सुनिश्चित गर्ने दायित्व विद्यालय र राज्य दुवैको भएकाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी माथिको कडा कारबाही हुनुपर्ने प्याब्सन गौर नगरका अध्यक्ष जमिल अख्तरले माग गरेका छन्।

प्रकाशित: १६ असार २०८३ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App