१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एसएसबीले आफैं हटायो दशगजाको निर्माणाधीन संरचना

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्योदय नगरपालिका–२, पुलखोलाको दशगजामा निर्माण गरिरहेको पक्की संरचना आफैं हटाएको छ।

सिमेन्ट, इँटा, गिटी, बालुवा प्रयोग गरी भारतीय पक्षले ‘गेस्ट हाउस’ बनाइरहेको थियो। सीमाको जंगे पिलर ७०/२ र ७०/३ को बीचमा भारतले रातारात संरचना बनाइरहेको थाहा पाएपछि सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुर बम्जन, पशुपतिनगरस्थित सशस्त्र प्रहरीको गुल्म र सीमा प्रशासनलगायतको टोलीले त्यस स्थानको निरीक्षण गरेको थियो।

नेपाली टोलीले फागुन १ गते त्यस क्षेत्रको निरीक्षण गरी पक्की संरचना हटाउन एसएसबीलाई अनुरोध गरेको थियो। तर, एसएसबीले मानेको थिएन। पशुपतिनगरस्थित सशस्त्र प्रहरीले पटक–पटक पहल गरेपछि एसएसबीले त्यो संरचना हटाएको हो।

‘सशस्त्रसहित नेपाली टोलीको ध्यानाकर्षणपछि संरचना बनेको ठाउँ दशगजा नै भएको पुष्टि भएर भारतीय पक्षले आफूले बनाएको संरचना आफैं हटाएको हो,’ स्रोतले भन्यो।

वडा, सीमा प्रशासन, सशस्त्र प्रहरीको बेसक्याम्पका प्रतिनिधि र स्थानीयले स्थलगत अवलोकन गर्दा भारतीय पक्षले पक्की संरचना बनाइरहेको ठाउँ दशगजा नै भएको ठहरसमेत गरेको थियो। 

त्यसपछि वडामा सरोकारवालाको सर्वपक्षीय बैठक बसेर संरचनाको काम रोक्न वडाको अगुवाइमा जिल्ला प्रशासनको ध्यानाकर्षण गरिएको थियो।

वडा सदस्य उपेन्द्रराज पाण्डेले अहिले भारतीय पक्षले निर्माणाधीन संरचनाको काम रोकेको मात्र नभई भत्काएको बताए। ‘निर्माणको काम रोकेको मात्र होइन, बनेको संरचना नै भत्काइएको छ,’ उनले भने।

सन् २०१२ मा एसएसबीले यहाँको दशगजामै टेन्टसहितको क्याम्प बनाएको थियो। त्यस ठाउँमा ‘फेन्सिङ’ समेत गर्न खोजेको थियो। अहिले सोही ठाउँमा पक्की ‘गेस्ट हाउस’ बनाउन थालेको थियो।

प्रकाशित: ७ फाल्गुन २०८० २२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App