१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा मोरङको सुन्दरहरैँचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका–१० की ४७ वर्षीया विना दनुवारलाई श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार शुक्रबार राति ८ बजेतिर श्रीमान्–श्रीमतीबिच विवाद हुँदा धक्का लागेर लडेपछि श्रीमानको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेका छ।

शुक्रबार राति ५५ वर्षीय गंगेबहादुर दनुवार र उनका श्रीमतीबिच घरायसी विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘दुवै जनाले मादक पदार्थ सेवन गरेपछि विवाद भएको देखिन्छ। विवादका क्रममा श्रीमानले काठको चिर्पट जस्ता वस्तुले श्रीमतीलाई प्रहार गर्न खोज्दा श्रीमतीले धकेलेपछि श्रीमान् लडेका थिए।’

मृतकको शरीरमा बाहिर चोटपटक केही पनि नदेखिएको डिएसपी दाहालले बताए। पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी ट्रमा सेन्टरमा पठाइएको छ। 

श्रीमती विनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ फाल्गुन २०८० १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App