२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

बदलिंदै समाज, हट्दै विभेद

दलित महिला सदस्यको अनुभव

फाइल तस्वीर

शान्ति नेपालीलाई ठ्याक्कै याद छैन, एउटै गोरेटोमा कति जना तर्किएर हिँडे। सँगै वन गएकी सँगैकाले होच्याएर ‘बोल्दा’ कतिपटक मन दुख्यो। एउटै धारापँधेराको पानी खाने छिमेकी कतिपटक भाँडा छोइन्छ कि भनेर पन्छिए। मेलापातमा सबैलाई एकै कचौरामा खाजा दिँदा उनलाई छुट्टै दिइन्थ्यो? शान्तिले उत्तर मागिनन्। उपल्लो भनिएका जातको घरमा जाँदा केही खानेकुरा दिँदा अलग्ग दिन्थे, डिलमा बसेर खान्थिन्। अरूले नमाझ्दा पनि हुने तर आफूले भाँडा माझेर घोप्टाउनुपर्दा शान्तिले दुख मानिनन्। कानुनमा जातीय भेदभाव बर्जित छ। तर, व्यवहारमा हेपिएकै छन्, तिरस्कृत नै छन्।

आखिर किन कानुन र व्यवहारमा यो अन्तराल? दलितमाथि गरिने अपमान एकातिर र महिला भएकै कारण गरिने दुव्र्यवहार अर्कोतिर। यस्तो अवस्थामा समाज अहिले धेरै फेरिएको अर्की गुठिचौर–३ गर्जाङकोट गाउँकी दलित महिला वडासदस्य राजु कामीको अनुभव छ।

‘पति बिहान कामधन्दातिर निस्कने तयारी गर्दा म कार्यक्रममा निस्किने तयारी गर्दै हुन्छु। बच्चा सासूससुरा र बहिनीले सम्हाल्छन्। उहाँ पैसा कमाउन निस्कनुहुन्छ, म गाउँ बदल्न,’ राजुले भनिन्, ‘वडासदस्य भएर आएपछि धेरै पटक त कार्यक्रममा भाषण गरेकी छु।’

पहिले कसैले औंला उठाउँदा, आरोप, आक्षेप लगाउँदा उनले प्रतिकार गर्न सक्दिनथिन्। अहिले २/४ जना मान्छे जम्मा गरेर भाषण गर्न सक्ने भएकी छन्। आफू, समुदाय र अरू कुनै मान्छेमाथि भएको अन्यायविरुद्ध चुप लागेर नबस्ने हिम्मत राजु कामीलाई छ।

‘६० प्रतिशत क्षमता विकास गर्‍यौं’अहिले उनीहरूलाई जनताले समस्या सुनाउँछन्, अप्ठेरो बताउँछन्। कुनै जातिविशेषको होइन, उनीहरू जनताको साझा बनेका छन्। बाटोघाटो, खानेपानी, भवनको मागसम्म आउँछन्।

 पहिलेजस्तो समाजमा छोइछिटो चल्दैन। जुनसुकै जातिको भए पनि एकै ठाउँमा खाना खाने, सरसहयोग गर्ने दलित सदस्यहरूले अनुभव सुनाउँछन्। उनीहरू राजनीतिक रूपमा सक्रिय हुँदै अझै उपल्लो पदमा प्रतिस्पर्धा गर्न चाहन्छन्।

 उनीहरू भन्छन्, ‘सदस्य भइयो, हिम्मत आयो, अब वडाध्यक्षमै उठ्ने हो तर सबै ठाउँमा अझै समानता कहाँ आएको छ र? हाम्रो हकमा समाज केही लचिलो भयो होला र अझै पनि दलितमाथिको दुर्व्यवहार र असमान सोच कायमै छ। त्यही हटाउन त हामी आइपुगेका छौं।’

महिला सदस्य भएपछि सबैले नेतृत्व विकास भएको सुनाए। बोल्नै नसक्ने अवस्थामा अहिले आफ्ना कुरा राख्न र विषयबस्तुमाथि बोल्न सक्ने भएको उनीहरूको अनुभव छ।

‘पहिले बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्थ्यो। भरसक नामै नआए हुन्थ्यो। आइहाले लाजले रातोपिरो भएर बोल्नै सकिन्थेन,’ बास्मतीले भनिन्, ‘अहिले त ६० प्रतिशत क्षमता विकास गर्‍यौं। अरूले पनि नेतृत्व विकास गर्दै हुनुहुन्छ।’

प्रकाशित: ५ फाल्गुन २०८० ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App