२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

भैरहवामा दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा शुक्रबारदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु भएको छ। सम्मेलनमा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएका छन्।

देशको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलताको विकास अति आवश्यक रहेको भन्दै उनीहरूले त्यसका लागि सरकारले वतावरण तयार गर्नुपर्ने बताए।  

महिला उद्यमशीलताको दिगोपनका लागि वित्तीय पहुँच स्थापित गर्ने, सहुलियत कर्जा, छुट अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, उत्पादित बस्तुको बजारीकरण, प्रविधि प्रयोगका तालिमहरू, दक्ष जनशक्ति उत्पादनलगायत विषयमा विशेष योजना ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

थोरै पुँजीमा धेरै आर्थिक लाभ लिन सकिने खालका स्थानीय स्रोतसाधन परिचालन गरी सञ्चालन गरिएका घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा विशेष ध्यान दिन महिला उद्यमीले सरकार तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन्।  

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थनगर उद्योग वाणिज्य संघको समन्वयमा सम्मेलन आयोजना गरिएको हो।

‘महिलाको लगानी घरघरमा उद्यमी’ भन्ने नारासहित भैरहवास्थित सिद्धार्थनगर उद्योग वाणिज्यसंघको सभाहलमा जारी सम्मेलनमा देशभरका तीन सय बढी महिला उद्यमीको सहभागिता रहेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताए। महिला उद्यमशीलताको विकास र विस्तारलाई प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै उनले प्रदेश सरकारले त्यससम्बन्धी विशेषकार्यक्रम सञ्चालन गरेको बताए।

 दुरदराजमा रहेका महिला उद्यमी र तीनका उत्पादनलाई सहरसँग जोड्दै बजार प्रवद्र्धनमा ध्यानदिनु पर्ने उनले बताए। युवा विदेश पलायन भइरहेका बेला महिला उद्यमी नयाँ सोचका साथ अगाडि बढ्ने प्रयास गरीरहेको र राष्ट्रिय सम्मेलन गर्न सफल भएको भन्दै मुख्यमन्त्री चौधरीले महिला उद्यमीको प्रशंसा गरे।

सम्मेलनले निकाल्ने निचोडलाई ध्यानमा राखेर प्रदेश सरकारले महिला उद्यमशीलताको विकास र विस्तारका थप कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरे।

प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले प्रदेश सरकारले महिला उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेको बताए। महिलाले सञ्चालन गरेका उद्यम व्यवसायको प्रवद्र्धन, बजार विस्तार, ब्रान्डिङ, मार्केटिङमा सहयोग गर्नुका साथै महिला उद्यशीलतालाई अर्थतन्त्रमा जोड्न प्रदेश सरकारले पहल गर्ने बताए।

 मन्त्री पाण्डेले महिलाबिना सृष्टिको परिकल्पना गर्न नसकिने भन्दै आफूलाई कमजोर नठानी नयाँ उद्यम र प्रविधितर्फ अग्रसर हुन उद्यमी महिलालाई आग्रह गरे।

प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले उद्यम गर्न चाहने महिलालाई सरकार, निजी क्षेत्र सबैले सकारात्मक ढंगले सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महिला उद्यमीको सशक्तीकरण र प्रवद्र्धनका लागि महासंघले विशेष पहल गरिरहेको बताए।

दर्ता राजस्वमा केही छुटको व्यवस्था भए पनि व्यवसाय निरन्तरताका लागि सहुलियत दिन नसक्दा महिला उद्यमशीलताको विकास र विस्तार हुन नसकेको उनले बताए।

कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, महासंघको लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महिला उद्यमी विकास समीतिका सभापती कमला श्रेष्ठ लगायतले बोल्दै महिला उद्यमशिलताको बिकासकालागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिए।

सम्मेलनमा महिला उद्यमीको अवस्था, विद्यमान नीतिगत व्यवस्था तथा व्यावहारिक चुनौती र तीनको समाधानका उपायका सम्बन्धमा विभिन्न सत्रमा छलफल गरिनेछ।

महिला उद्यमशीलतासँग सम्बन्धित कानुनी व्यवस्था र त्यसको कार्यान्वयन पक्षबारे उद्यमशीलता नीति र नतिजा विषयमा शुक्रबारै दोस्रो सत्रमा छलफल भएको छ। त्यस्तै आयोजकले वित्तीय पहुँच र बजार पहुँच विषयमा पछि सम्मेलनमा छलफल गरिने आयोजकले बताएका छन्।

प्रकाशित: ५ फाल्गुन २०८० ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App