३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रेम दिवसमा ‘खैनीचुरोट छाड्ने कसम’

प्रेमिल जोडीले बुधबार रेष्टुरेन्ट र बगैंचाहरूमा गुलाब साटेर प्रेम दिवस मनाए। भौतिक रूपमा नजिक नहुने प्रेमीप्रेमिकाले सामाजिक सञ्जालमा प्रेम व्यक्त गरेर यो दिवस मनाए। काठमाडौंस्थित नेसनल कार्डियाक सेन्टरमा भने भिन्नै तरिकाले यो दिवस मनाइयो।

त्यहाँ धूमपान गर्नेहरू जम्मा भए। उनीहरूले चिकित्सक ओममूर्ति अनिलसमक्ष अबदेखि खैनी, चुरोट सेवन नगर्ने प्रतिबद्धता गरे। अनिलले प्रेम दिवस (भ्यालेन्टाइन्स डे) र सरस्वती पूजाको दिन पारेर उनीहरूका लागि यस्तो अवसर जुटाइदिएका हुन्। धूमपानको लत छुटाउन उनले फेब्रुअरी १ देखि १४ तारिखसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।

प्रेम दिवसको दिन चुरोट छोड्ने घोषणा गरेका कपनका ४२ वर्षीय सुरेशकुमार श्रेष्ठले चुरोट सेवन गर्न थालेको २० वर्ष भयो। तीन वर्षअघि आमाबुवालाई मनकामना दर्शन गराउन लगेको मौका छोपेर उनले चुरोट छोड्ने वाचा गरे। तर, २ दिन नबित्दै उनले चुरोट पिइहाले।

केही दिनदेखि डा. अनिलले चलाएको अभियान सामाजिक सञ्जालमा हेरे। कार्यक्रम हेरेपछि उनी अबचाहिँ चुरोट छोड्छु भन्ने अठोटका साथ कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रम हेरेलगत्तै चुरोट छोडेको र चुरोट छोडेको कारण आफूलाई अप्ठेरो महसुुस भएको बताए। ‘कठिन भएदेखि अबदेखि चुरोट पिउँदिनँ,’ उनले भने।

बालाजुका जयराम सिलवाल पनि सोही कार्यक्रममा सहभागी थिए। उनी १५ वर्ष पहिला पिएको चुरोट छोड्न नसक्नुको पीडाले त्यहाँ पुगेका हुन्। उनी दिल्ली जाने क्रममा एकजना दिदीको संगतले चुरोट र बियर पिउन सिके। पछि ती दिदीले चुरोट र बियर दुवै छोडिन्। तर उनले पटकपटक प्रयास गर्दा पनि छोड्न सकेनन।

यो बीचमा परिवारको अघि चुरोट र बियर दुवै छोडेको घोषणा गर्थे। तर, बीचैमा पिइहाल्थे। यो घटनापछि पत्नीले पनि विश्वास गर्न छोडेकी थिइन्। यो असफलतालाई जित्नका लागि बुधबार कार्यक्रममा सहभागी भएरै चुरोट पिउन छोड्ने अठोट गरे। ‘अबदेखि पिउँदिन म प्र्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’  उनले भने।

 

सोही कार्यक्रममा भेटिएका अर्का कपनका ३७ वर्षीय युवक। उनले १५ वर्षअघि १२ कक्षा उत्र्तीण गरेको खुशियालीमा उनले चुरोट सिकेका थिए। रिजल्ट आएपछि गोसाइँकुण्ड घुम्न गए।

तीमध्येमा एउटा साथीले चुरोट चढाए। अर्को साथीले प्रसाद भन्दै त्यही चुरोट बोकेर फर्के। फर्किंदा रसुवा बसेको रात साथीहरूबाटै चुरोट पिउन सिके। चुरोट पिएका आफ्ना बुवामा दमको रोगले हैरानी बनेका छन्।

यो दृष्य देखेपछि आफूमा जोखिम देखेपछि चुरोट छोड्न आएको उनले बताए। ‘सबैकाअघि गरेको प्रतिबद्धता बलियो हुन्छ भनेर आएको हुँ,’ उनले भने।

प्रेम दिवसका अवसरमा करिब दुई सय जना सहभागी भई खैनीचुरोट छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिबद्धता जनाएकालाई कार्यक्रमको आयोजक ओम फाउन्डेसनले प्रमाणपत्र दिएको छ। प्रतिबद्धता जनाएकालाई मात्र प्रमाणपत्र उपलब्ध गराइएको हो।

उनीहरूले सामाजिक सञ्जालमार्फत नै खैनीचुरोट छोड्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले बुधबार प्रमाणपत्र पाए। प्रमाणपत्र पाएकाहरूको एक महिना, तीन महिना र ६ महिनाको अवधिमा फोन गरी जानकारी लिइने जनाएको छ। ‘चुरोट छाडे÷नछोडेको जानकारी लिनेछौं, समस्या बल्झेमा पुनः प्रयास हुनेछ’ डा. अनिलले भने।

कार्यक्रममा काठमाडौंका प्रमादसिंह बानियाँले चुरोट सेवनका कारण आफूले भोग्नुपरेको दुर्घटनाबारे जानकारी दिए। उनले लामो समय चुरोट सेवन गरेको कारण दुईपटक हृदयघात भएको थियो। त्यसअघि मुटुरोग विशेषज्ञले भने पनि समयमै चुरोट छोड्न सकेका थिएनन्।

चुरोट सेवनको कारण पहिलोपटक हृदयघात भएपछि मात्र चुरोट छोडेको घटना स्मरण गरे। चुरोट लामो समय सेवन गरेपछि चुरोट छोडे पनि असर कायमै रहको कारण दोस्रोपटक हृदयघातको सामना गरेको उनले स्मरण गरे।

उनले भने, ‘मैलेजस्तो दुर्घटना बेहोर्नु नपरोस समयमै चुरोट छोड्नुहोला, म बाँचेका कारण मेरो परिवार बाँचेको छ,’ उनले भने।

प्रेम दिवस समारोहमा डा. अनिलले आफूसँग आउने बिरामीलाई चुरोट छोड्न सल्लाह दिन्थे। तर, सबै बिरामीले चुरोट छोड्न सक्दैनथे। केही महिनाअघि डा. अनिलको परिवारसहित पाटन दरबार घुम्न गएका थिए। त्यो बखत रेष्टुरेन्टमा खाजा खान पसेका थिए। रेष्टुरेन्टमा चुरोट पिउने युवायुवती भेटिए। उनीहरूको चुरोटको धुवाँ परिवारले सामना गर्नुपर्‍यो। दोस्रोपटक भक्तपुर दरबार घुम्न जाँदा पनि यस्तै घटना झेल्नुपर्‍यो।

त्यसपछि डा. अनिलले धूमपानविरुद्धको अभियान सुरु गर्ने सोचे र दुई सातादेखि सामाजिक सञ्जालमार्फत विभिन्न अभियान सुरु गरे। ‘मेरो सानो त्याग मायालुका लागि ठूलो उपहार’ नाराका साथ धूमपान छोडाउने अभियान सुरु गरे।

यो अभियानमा कलेज तहका विद्यार्थीलाई हाजिरी जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, बालचित्रकला प्रतियोगिता आयोजना गरियो। कार्यक्रममा धेरैको प्रतियोगीले भाग लिएका थिए।

प्रकाशित: ३ फाल्गुन २०८० ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App