२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

यो वर्ष कति बढ्यो महँगी ?

बजारमा वस्तु तथा सेवाको मूल्य बढ्ने क्रमसँगै देशको उपभोक्ता मुद्रास्फीति पनि उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा महँगी दर ६.३४ प्रतिशत पुगेको छ । साउनमा यस्तो दर ५.९६ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसले गत वर्षको तुलनामा यस वर्ष महँगीको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।

चालु आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ५.६९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो ।

घ्यूतेल, फलफूल र चिनीको मूल्यमा बढी चाप

भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सबैभन्दा बढी १६.६८ प्रतिशतले बढेको छ । फलफूलको मूल्य १५.९९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.१४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, माछा तथा मासुको मूल्य ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । दैनिक उपभोगका खाद्यवस्तुमा भएको यस्तो मूल्यवृद्धिले उपभोक्ताको खर्च बढाउने देखिन्छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य १२.७७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले वृद्धि भएको छ ।

सहरभन्दा गाउँमा बढी महँगी

क्षेत्रगत रूपमा हेर्दा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । चालु आर्थिक वर्षको भदौमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.७८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको ६.१९ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत आधारमा मधेश प्रदेशमा महँगी सबैभन्दा बढी ७.४८ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ५.१६ प्रतिशत रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा उपभोक्ता मुद्रास्फीति ६.८९ प्रतिशत, पहाडमा ६.४१ प्रतिशत र हिमालमा ५.६९ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा भने यस्तो दर ५.२८ प्रतिशत छ ।

थोक मूल्यवृद्धि पनि तीव्र

उपभोक्ता बजारमा मात्रै नभई थोक बजारमा पनि मूल्यवृद्धिको चाप बढेको छ । राष्ट्र बैंकका अनुसार भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही महिनामा थोक मुद्रास्फीति २.१० प्रतिशत मात्रै थियो ।

उपभोक्ता मुद्रास्फीति साउनको ५.९६ प्रतिशतबाट भदौमा ६.३४ प्रतिशत पुग्नु र थोक मुद्रास्फीति पनि बढ्नुले बजारमा मूल्यवृद्धिको दबाब कायम रहेको देखाउँछ।

प्रकाशित: २९ आश्विन २०८३ १८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App