१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दशगजा क्षेत्रमा ‘गेस्ट हाउस’ बनाउँदै भारतीय सुरक्षा बल

भारतले इलामको सूर्योदय–२ स्थित पुलखोलाको दशगजामा निर्माण गरिरहेको पक्की संरचना।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्योदय–२ स्थित पुलखोलाको दशगजा क्षेत्रमामा पक्की संरचना निर्माण गरिरहेको छ।

सिमेन्ट, इँटा, गिटी, बालुवा प्रयोग गरी भारतीय पक्षले ‘गेस्ट हाउस’ बनाइरहेको हो। सीमाको जंगे पिलर ७०/२ र ७०/३ को बीचमा भारतले रातारात संरचना बनाइरहेको सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुर बम्जनले बताए।

उनका अनुसार वडा, सीमा प्रशासन, सशस्त्र प्रहरीको बेसक्याम्पका प्रतिनिधि र स्थानीयले स्थलगत अवलोकन गर्दा भारतीय पक्षले पक्की संरचना बनाइरहेको ठाउँ दशगजा नै भएको ठहरसमेत गरेको छ।

दशगजामा निर्माण भइरहेकाे संरचनाकाे अवलोकन गर्दै पशुपतिनगरका सरोकारवालाको टोली।

‘हामीले यो ठाउँ दशगजा नै भएको ठहर गर्दै तत्काललाई निर्माण रोक्न आग्रह गर्दा एसएसबीले मानेन,’ उनले भने, ‘तर, एसएसबीले यो दशगजा नभएको, स्काई ल्यान्ड सर्भे गर्दा हाम्रै हो भन्दै दाबी गरेको छ।’

त्यसपछि आफूहरूले वडामा सर्वपक्षीय बैठक बसेर लिखित रूपमै दशगजा मिचिएकोबारे प्रशासनलाई जानकारी गराएको उनले बताए।

मंगलबार पशुपतिनगरमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले दशगजामा भइरहेको संरचना निर्माण कार्य तत्काल रोक्न अनुरोध गर्ने निर्णय गरेको छ। निर्णयअनुसार सीमा प्रशासन र वडा मार्फत प्रशासनमा ध्यानाकर्षण गरिएको वडाध्यक्ष बम्जनले जानकारी दिए।

सन् २०१२ मा एसएसबीले यहाँको दशगजामै टेन्टसहितको क्याम्प बनाएको थियो। त्यस ठाउँमा ‘फेन्सिङ’ गर्न खोजेको थियो। अहिले त्यही ठाउँमा पक्की गेस्ट हाउस बनाउन थालेको हो।

सशस्त्र प्रहरीले भने एसएसबीको स्थानीय कमान्डसँग सम्पर्क गरी संरचना निर्माण रोक्न आग्रह गर्दा उनीहरू सशस्त्रको आग्रहप्रति ‘पोजेटिभ’ नै भएको स्रोतले जनाएको छ। ‘अब एसएसबीले त्यो संरचनाको थप काम तत्काललाई स्थगित नै गर्छ होला,’ स्रोतले भन्यो।

प्रकाशित: १ फाल्गुन २०८० २०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App