२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटक नचाहने पेरिसवासी

यस्ताे पनि!

‘एमिली इन पेरिस’ नेटफ्लिक्स शृंखलाका कारण पर्यटकको संख्या बढेको भन्दै यो शृंखलाको निरन्तरताका लागि पेरिस शहरले नेटफ्लिक्ससँग यसको निरन्तरतासँगै अन्य विभिन्न सम्झौता गरेको छ।

शृंखला केही वर्षदेखि नेटफ्लिक्समा चलिरहेको छ। शृंखलाले पेरिसको ‘क्लिसे’ अनुहार देखाएको भन्दै धेरैले गुनासो गर्ने गरेका थिए। तर, फ्रान्सको पर्यटन बोर्ड एटोट फ्रान्सले भने अमेरिकी स्ट्रिमिङ कम्पनीले देखाएको ‘क्लिसे’ भन्दा पनि यसले पर्यटक लोभ्याउन खेलेको भूमिकालाई कदर गर्दै त्यसको निरन्तरता र अन्य थप काम गर्न विशेष सुविधा दिने बताएको छ।

हालै नेटफ्लिक्सले गरेको सर्भेमा ‘एमिली इन पेरिस’को सन्दर्भ दिँदै अमेरिकी, जापानी र जर्मनवासी पेरिस भ्रमण गर्न इच्छुक रहेको देखिएको थियो। यी तीनवटै मुलुक धनी मुलुकमा गनिन्छन् र त्यहाँका पर्यटकहरू खर्च गर्न डराउँदैनन्।

यी पर्यटकले ‘एमिली इन पेरिस’ हेरिसकेपछि अन्य गन्तव्यको साटो पेरिस भ्रमण गर्ने सम्भावना उच्च रहेको बताएका थिए। त्यस्तै त्यो शृंखला नहेरेकाहरूले भने पेरिसलाई प्राथमिकतामा नराखेको पनि सर्भेले देखाएको थियो।

नेटफ्लिक्स र फ्रान्सेली पर्यटन बोर्डको सम्झौताअनुसार, अब नेटफ्लिक्सले आफ्नो वेबसाइटमा शृंखलाबद्ध रूपमा फ्रान्सका घुम्नलायक ठाउँबारे जानकारी राख्ने छ।

मूलतः नेटफ्लिक्स शृंखलाले देखाएका ठाउँहरू भने अनिवार्य रूपमा जानकारी दिनेछ। यसैगरी नेटफ्लिक्समा अर्को शृंखला पनि निकै हिट भएको थियो। ‘लुपिन’ नामक चोरमाथि बनाइएको थ्रिलरमा जुन जुन ठाउँ देखाइएको छ, नेटफ्लिक्सले ती ठाउँबारे पनि जानकारी दिनेछ।

यसैगरी अर्को फ्रान्सेली राजनीतिक धोकाधडी र भ्रष्टाचारमाथि टिप्पणी गर्ने शृंखला ‘मार्सेली’का ठाउँलाई पनि प्रमुखता दिइनेछ।

सर्वसाधारणमा सबैभन्दा बढी चासो चाहिँ लिली कोलिन्सले अभिनय गरेको ‘एमिली इन पेरिस’ नै हो। त्यहाँ उनले विभिन्न रेस्टुराँको भ्रमण गर्छिन्, गल्ली नाप्छिन्।

त्यस्तै कतिपय चित्रकला प्रदर्शनी पनि हेर्न भ्याउँछिन्। नेटफ्लिक्सले अर्को एउटा गाइड पनि तयार पारेको छ, ‘पेरिसियन नाइट आउट विद् एमिली।’

त्यसो त पर्यटन बोर्डले नेटफ्लिक्ससँग यस्तो सम्झौता गरे पनि केही पेरिसवासीहरू खुसी छैनन्। नेटफ्लिक्सका कुनै पनि शृंखलाले त्यहाँका बासिन्दाको भावना र मर्म व्यक्त नभएको आरोप लगाउँछन्।

त्यसैगरी कतिपय पर्यटकहरूले शृंखलामा देखाइएको विशेष बेकरी पसल पनि खास नभएर ज्यादै सामान्य ब्रेड बेच्ने ठाउँ रहेको भन्दै केहीले खिल्लीसमेत उडाएका छन्।

गत साता मात्र शहरको खाली ठाउँमा ‘एमिली इज नट वेलकम’ पोतेको देखिएको थियो। पछिल्लो समय एमिली घुमेका ठाउँमा पर्यटकहरूको ओइरो लागेपछि केहीले दिक्क मान्दै त्यस्तो लेखिएको बताइएको छ।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १ फाल्गुन २०८० ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App