१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

आत्मरक्षा तालिम लिँदै किशोरी। तस्बिर : नागरिक

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

महिलामाथि हुने बलात्कार, जबर्जस्ती करणी, कुटपिट जस्ता घटना मौलाउँदै गएका बेला जुम्लाको गुठीचौर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोरीलाई तीनदिने आत्मरक्षा तालिम दिइएको हो।  

आइतबारदेखि सञ्चालन गरिएको किशोरीलाई आत्मरक्षा तालिम मंगलबार सकिएको छ। महिला तथा किशोरीमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए। उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुव्र्यवहार अन्त्य गर्न आफूले सिकेर मात्र होइन, सिकेका कुरालाई अन्य साथीलाई सिकाउन सके राम्रो प्रभाव पर्छ।

आत्मरक्षा तालिममा १ देखि ५ वडाभित्र किशोरीको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताइन्। उनका अनुसार किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि गाउँपालिकाले पालिकाभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको थियो।

महिला हिंसाबाट बच्न, हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा पहिलो चरणमा गाउँपालिकाभित्रका किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारीले बताइन्।

महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो। तालिममा सहभागी किशोरीमध्ये एक गुठीचौर ५ की विन्दु धितालले भनिन्, ‘अप्ठ्यारो परेका बेला आफ्नो सुरक्षा आफैं कसरी गर्ने भनेर सिक्दै छु। यहाँ सिकेपछि घरवरपरका साथीहरुलाई पनि मैले सिकाउँछु।

तालिममा सहभागीले आफ्नो गाउँबस्तीमा रहेका विद्यालयमा अध्ययनरत सबै किशोरीलाई प्रशिक्षण दिनेछन्। जुम्लामा अर्थिक वर्ष ०८०/८१ मा जम्मा ५३ वटा महिला हिंसाका घटना भएका छन्, जसमध्ये २ पुरुषका वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक छ।

प्रकाशित: २४ माघ २०८० ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App