जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ की ६३ वर्षीया सरस्वती रोकायाले १२ वर्षको कलिलो उमेरमा विवाह गरिन्। अहिले उनका दुई छोरी र चार छोरा छन्। पाँचवटा बच्चा खेर गए, केही गर्भास्थामै खेर गए, केही दुईचार महिना पुगेर खेर गए। उनले भनिन्, ‘बालविवाह गरेको थाहा पाइनँ। न् त बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी थियो । अन्जानमा बाल विवाह गरेर बन्धनमा बाँधिन पुगेँ। आमाबुबाले नै केटो मागिदिनुभयो।’
विवाहका लागि पक्का भइसकेकाले सरस्वतीले बाबु–आमाको इज्जत र प्रतिष्ठाका लागि विवाह गरेको उनले सुनाइन्। उनले भनिन्, ‘पहिले गर्भमा हुँदै छोरी दिने र माग्ने चलनचल्ती थियो।’ ‘तर स्वास्थ्यका हिसाबले परिपक्क नहुँदै बिहे गर्दा पाउनु दुख पाएँ’, उनले भनिन्।
सानै उमेरमा विवाह गर्दा अहिले स्वास्थ्यमा असर देखा परेको उनी बताउँछिन्। उनले थपिन्, ‘अन्जानबस मैले त सानै उमेरमा विवाह गरें। परिपक्व उमेर भएपछि मात्र विवाह गर्नुपर्छ भनेर गाउँका नयाँ पिढीलाई सुझाउँछु।’ ‘हिजोआज घरमा छोरीछोरालाई सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या दर्शाउँदै समस्या निराकरणमा लाग्न सचेतना दिँदै छु’, उनले भनिन्।
उनी अहिले बालविवाह न्यूनीकरण अभियानमा खटिएकी छिन्। बालविवाह गर्नु हुँदैन। कानुनले पनि बालविवाह गर्नु हँुदैन भन्ने स्पष्ट गरिसकेको छ भन्दै गाउँमा प्रचारप्रसार गर्छिन्।
सानै उमेरमा प्रेम भए पनि उमेर पुगिसकेपछि मात्र विवाह गर्नुपर्ने उनको तर्क छ। सरस्वतीले थपिन्, ‘सबैभन्दा ठुलो मानव स्वास्थ्य हो। बाल विवाह गर्दा स्वास्थ्यका हिसाबले अवस्था नाजुक हुन्छ। गाउँमा बाल विवाह रोक्न अनेक प्रयत्न गरिरहेका छौँ।’
वडाकै हरिकला रोकायाले पनि ११ वर्षको उमेरमा विवाह गरेको र १५ वर्षको उमेर छोरी जन्मिएको बताइन्। अहिले ६८ वर्ष पुगिसकेकी हरिकला सानै उमेरमा विवाह गरेकोमा पछुताउँछिन्। ‘उनले भनिन्, ‘अहिले स्वास्थ्य ठिक छैन। पछुतो लाग्छ।’
उनले विवाह गरिसकेपछि बाल विवाह गर्दा आउने समस्याका बारेमा जानकार हुन सकेको बताइन्। ‘पहिले केही थाहा थिएन, विवाह गरिसकेपछि थाहा पायौँ’, उनले भनिन्, ‘हामी त बाल विवाहको सिकार बन्यौ, तर अहिलेको पिढी र भावी पुस्ताले बाल विवाह गरेर भविष्य बिगार्ने काम नगरुन्।’
हरिकला र सरस्वती गाउँमा बाल विवाह, छुइप्रथा जस्ता विकृतिजन्य क्रियाकलाप अन्त्य गर्ने अभियानमा सक्रिय रुपले जुटेका छन्। उनीहरू गाउँमा किशोरकिशोरी, युवायुवती र बुढापाका सबैलाई बाल विवाह नगर्न आग्रह गर्छन्। बाल विवाहले गर्ने असरका बारेमा सुसूचित गर्छिन्।
यता ६० वर्षकी खुमेनी रोकायाले भनिन्, ‘बाल विवाहका कारण धेरै किशोरी–किशोरले बीचमै पढाइ रोक्नु परिरहेको अवस्था छ। कार्यबोझ झेल्नुपरेको छ। स्वास्थ्य समस्या पनि अछुतो छैन। केहीले त अकालमै मृत्युवरण गर्नुपरेको ज्वलन्त उदाहरण पनि छन्।’ उनीहरू भन्छन्, ‘हामी चाहन्छौँ– बाल विवाहमुक्त समाज होस्। सबैले परिक्व उमेर भएपछि मात्र विवाह गरुन्।’
सोही गाउँकी ३२ वर्षीया राजदेवी कार्की बालविवाह जुनसुकै व्यक्तिका लागि हानिकारक भएको बताउँछिन्। उनले भनिन्, ‘बिहेबारी २० वर्षपारि गर्नुपर्छ । परिवारले पनि छिटो विवाह गर्न दबाब दिनु हुँदैन। उमेर नपुग्दासम्म विवाह गर्नु भनेको आफ्नो भविष्य आफैं बिगार्नुजस्तै हो।’
२० वर्षको उमेरमा आफूले विवाह गरेको कार्की बताउँछिन्। उनले भनिन्, ‘मैले २० वर्षमा विवाह गरें, स्नातक तहसम्मको पढाइ पनि सिध्याएँ। सुखी परिवार छ। घरमा सासूससुरा, एक छोरा र श्रीमान् छन् । जीवन आनन्दित छ।’
कार्की भनिन्, ‘गाउँपालिकामै रहेको एनआईसी बैंकमा जागिर गर्छु। अन्य किशोरीलाई पनि परिपक्व र जागिर खाइसकेपछि मात्रै विवाह गर्न सल्लह दिने गरेकी छु।’
गाउँमा बाल विवाह गरेका दिदीबहिनी नै बाल विवाहविरुद्धको अभियानमा लागेको देख्न खुसी लाग्ने गरेको उनी बताउँछिन्। उनीहरूले स्थानीय सरकारलाई बाल विवाहविरुद्धको कानुन ल्याउन मागसमेत गरेका छन्। बाल विवाह गर्दा हुने भोजभतेर बहिस्कार गर्नुपर्छ। बल विवाहजन्य कुनै पनि क्रियाकलापमा प्रतिबन्ध लगाउनुपर्छ। यस्तो नीति आँगनमै आएको सरकारले बनाओस ्। राजदेवीले भनिन्, ‘सचेतना र कानुनी ज्ञानसँगसँगै अघि बढाउनुपर्ने देखिएको छ। यसमा तीनवटै तहका सरकारको ध्यान केन्द्रित गर्नुपर्छ।’
अहिले पनि जुम्लामा एक नगरपालिका र सातवटा गाउँपालिका छन्। सबै स्थानीय तहमा लुकिछिपी बाल विवाह भइरहेको छ। बाल विवाह रोक्न स्थानीय सरकार र सामाजिक संघसंस्था लागिपरेका छन्।
बाल विवाहका सम्बन्धमा नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा लेखिएको छ, ‘२० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ।’
प्रकाशित: १८ माघ २०८० ०१:५७ बिहीबार