१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा

तस्बिरः विजय राई/नागरिक

विश्वमै दुर्लभ मानिएको र नेपालमा पाइने एउटा वन्यजन्तुको अहिले चर्चामा छ। चर्चा मात्र होइन, यसले वन्यजन्तु संरक्षणका क्षेत्रमा थुप्रै आशंका र कौतुहलता पनि जन्माएको छ। छ दिन अघि मात्र तराईमा फेला परेको यस जनावरले अनुसन्धानकर्ता र वैज्ञानिकहरुलाई चुनौती पनि थपिदिएको छ।

त्यो हो, ‘मोरङको उर्लाबारीमा फेला परेको हिउँ चितुवा। हुन त यो जनावरको सङ्ख्या नेपालमा तीन सयदेखि ४ सयसम्मको हाराहारीमा अनुमान गरिन्छ। तर समुद्री सतहबाट दुईदेखि ६ हजार मिटर उचाइमा विचरण गर्ने यो जनावर एकाएक १४६ मिटर उचाइमा भेटियो। आखिर कसरी? यो नै अहिलेको बहसको विषय बनेको छ।

यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।

कसरी, कहाँबाट, कसले, किन हिउँ चितुवालाई त्यहाँ ल्याइपुर्‍यायो वा त्यो आफै हिँडेर आयो भन्ने विषयले वन्यजन्तु संरक्षण क्षेत्रलाई तरङ्गित पारिरहेको छ। अहिलेसम्म प्रणामसहितको वैज्ञानिक उत्तर आएको छैन।

उर्लाबारीबाट उद्धार गरेर ल्याइएको उक्त हिउँ चितुवालाई ललितपुरस्थित सदर चिडियाखानाको खोरमा कृत्रिम चिसो (एयर कन्डिसन)मा राखिएको छ। स्थायी ठेगाना अझै खुलेको छैन। स्थायी ठेगाना पत्ता लगाउन छ दिनसम्म गरिएका सबै प्रयास विफल छन्।

‘कहाँबाट कसरी आयो भन्ने वैज्ञानिक आधार अहिलेसम्म केही देखिएको छैन’, सरकारको सरकारवाला निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले नागरिकन्यूजसँग भने, ‘मान्छेहरूले दश थरी अनुमान गरिरहेका छन् तर तीनमा वैज्ञानिक आधार भेटिएको छैन। प्रमाणहरू पनि छैनन्।’

उनी थप्छन्, ‘केहीले तस्करी गर्ने क्रममा त्यहाँ छोडियो भन्छन्। त्यो ४०/५० किलोको जनावर झोलामा हालेर कसरी त्यहाँ ल्याए?।’ डा. ढुंगानाको भनाइले पनि पुष्टि हुन्छ की त्यो हिउँ चितुवाको स्थायी ठेगाना अहिलेसम्म खुलेको छैन। त्यसैले स्थायी ठेगाना पत्ता लगाउने प्रयासमा वन प्रशासन लागिरहेको छ।

महानिर्देशक डा. ढुगानाका अनुसार उर्लाबारीमा कसरी हिउँ चितुवा आइपुग्यो भन्नेबारे अनुसन्धान गर्न विभागले सम्भवतः आज (सोमबार) कार्यदल प्रस्ताव गर्नेछ।

‘सायद आजै कार्यदल गठन हुनसक्छ’, उनले भने। विभागले दुईदेखि तीन जना वन्यजन्तु विज्ञलाई समेटेर अध्ययन/अनुसन्धान कार्यदल गठनका लागि वन मन्त्रालयलाई प्रस्ताव गर्दै छ।

चिडियाखानामा रहेको उक्त चितुवाको तौल ४० किलो छ। मंगलबार दिउँसो उर्लाबारीको बाँसघारीमा भेटिएपछि कोशीटप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोष, वन प्रशासन र प्रहरीको संयुक्त प्रयासमा त्यसलाई उद्धार गरिएको हो। सुरुमा त्यसलाई कोशीटप्पुमा पुर्‍याइयो। त्यहाँ उपयुक्त तापक्रमको व्यवस्था गर्न नसकिएपछि काठमाडौँ ल्याइएको जिकिर डा. ढुंगानाको छ।

‘कोशीटप्पुभन्दा काठमाडौँ चिसो हुने भएकाले त्यसलाई यहाँ ल्याइयो’, उनले भने, ‘अहिले त्यसलाई पुग्ने गरी कृत्रिम चिसो दिएर राखेका छौँ। तापक्रम मनिटरिङ भइरहेको छ।’ डा. ढुंगानाका अनुसार चितुवा पशु चिकित्सकको निगरानीमा छ। पछाडिको देब्रे खुट्टामा चोट लागेको अवस्थामा भेटिएकाले त्यसको उपचार पनि भइरहेको छ। स्थानीयवासीले लखेट्दा घाइते भएको हुनसक्ने उनको अनुमान छ।

डा. ढुंगाना भन्छन्, ‘जसले जे अनुमान गरेपनि अहिलेसम्म कसरी त्यहाँ आयो भन्न पुष्टि गर्ने वैज्ञानिक आधार भेटिएको छैन।’

हिउँ चितुवा नेपालका हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्रमा पाइन्छन्। ती क्षेत्रको झन्डै १२ हजार ८ सय १५ वर्ग किलोमिटर क्षेत्रफल यिनीहरूको वासस्थान मानिन्छ। यी जनावर चीन, भारत र नेपालका उच्च हिमाली क्षेत्रमा विचरण गर्छन्।

नेपालसहित मध्य र दक्षिण एसियाका १२ वटा देशमा यो पाइन्छ। विश्वमा यसको कुल सङ्ख्या ३ हजार ९ सय २१देखि ६ हजार २ सय ९० सम्म रहेको अनुमान गरिएको छ। यसको उपस्थितिलाई स्वस्थ पारिस्थितिकिय प्रणालीको सूचक मानिन्छ। साथै यो प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति पनि हो।

प्रकाशित: १५ माघ २०८० ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App