४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याग्दीको तातोपानी कुण्ड जोगाऊ: सर्वोच्च

सर्वोच्च अदालतले म्याग्दीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा असर पर्नेगरी आयोजना नबनाउन आदेश गरेको छ।

न्यायाधीशहरू कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले तातोपानी क्षेत्रमा जलविद्युत आयोजनाको भौतिक संरचनाको काम नगराउन आदेश गरेको हो।

प्राकृतिक पहिचान बोकेको तातोपानी कुण्ड नै सुक्ने गरी म्यादी मिस्ट्री खोला २ जलविद्युत आयोजना बनाउन थालिएको भन्दै सर्वोच्च अदालतमा १७ जना स्थानीय बासीले गत असारमा रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चले स्थानीयको माग अनुसार तातोपानी वरिपरि जलविद्युत आयोजना बनाउन नपाउने गरी रिट जारी गरेको छ। यद्यपि सर्वोच्च अदालतले फैसला लिखित रूपमा जारी गरेको छैन। तर, निवेदकहरूले माग गरे बमोजिम ‘रिट जारी’ उल्लेख गरिदिएको छ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको तातोपानी क्षेत्रमा जलविद्युत आयोजना बनाएमा तातोपानी सुकी अपूरणीय क्षति समेत हुने भन्दै स्थानीयले रिट दर्ता गराएका थिए। २०७९ साउन २३ मा तातोपानीको नजिक पर्ने मिस्ट्री खोला २ जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएको थियो। तर, ‘स्थानीय रूपमा सार्वजनिक सुनुवाइ गर्नको लागी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको कपी सुनुवाइ हुने स्थानमा उपलब्ध नगराएको, तातोपानी कुण्डको सम्बन्धमा भू–गर्भ विज्ञको रायसहितको वैज्ञानिक प्रमाणको ग्यारेन्टी नगरी’, रिट निवेदकको दाबी थियो, ‘२०७८ फागुन २२ मा सार्वजनिक सुनुवाइ नसकी कानुन विपरीत काम गरेको।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (सचिवस्तर) को मिति २०७९ साउन २३ को प्रारम्भिक वातावरणीय परीक्षण समेत कानून विपरीत भएको रिट निवेदकहरूको दाबी छ।

तातोपानी कुण्डको नामले प्रख्यात नियमित रूपमा उपभोग गरी लाभ लिने एक महत्त्वपूर्ण स्थलको रूपमा परिचित छ। त्यस स्थान मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने र आउने मुख्य राजमार्गको बिच भागमा पर्छ। कालीगण्डकी नदीको तिरैतिरै भएर दैनिक हजारौँ पर्यटक देश विदेशबाट मुक्तिनाथ दर्शन गर्न जाने आउने गर्छन्।

तातोपानी कुण्ड वर्षौँदेखि कुण्डको रूपमा स्थापना भई दैनिक हजारौँ व्यक्तिले करिब ४५ देखि ७० डिग्रीसम्मको तातोपानीमा नुहाउँछन्। यसको प्राकृतिक उपचार हुने विश्वास मान्दै आएको छ। तातोपानीमा बस्दा हाडजोर्नी, नशा, छाला, पिनास, ग्याष्टिक सम्बन्धी रोगको उपचार हुन्छ भन्ने मान्यता छ। तातोपानी कुण्डको नामबाट पर्यटन व्यवसाय समेत सञ्चालन भइरहेको छ।

त्यस क्षेत्रमा कालीगण्डकीको दायाँबायाँ दुबैतर्फ तातोपानीको कुण्ड छन्। कालीगण्डकीको बायाँ पट्टि पाउद्धार तातोपानी कुण्ड छ। त्यस कुण्डको संरक्षण स्थानीय बासीले गर्दै आएको रिट निवेदनमा दाबी गरेका छन्। तातोपानी कुण्डको पानीको प्राकृतिक स्रोतलाई साविक कै अवस्थामा राख्न रिट निवेदकको माग थियो। त्यसै अनुसार सर्वोच्च अदालतले रिट जारी गरिदिएको छ।

प्रकाशित: १४ माघ २०८० १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App