१६ चैत्र २०८० शुक्रबार
समाज

३३ किलाे सुन गायब, भरियाको हत्या

काठमाडौं  – सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन्।

यसअघिका घटनामा तस्करीमा संलग्न समूह–समूहबीचको आन्तरिक द्वन्द्व सार्वजनिक हुने गरेको थिएन । पछिल्लो समय तस्करबीच बढेको द्वन्द्व र अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन्। 

अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन् । यही विवादमा असोजयता दुईजनाको हत्या भएको छ ।

गत असोजमा तस्करीको सुन लुकाएको आशंकामा रसुवाका गगन लामा काठमाडौंमा मारिए । हत्याको कारण तस्करीको १८ किलो सुन देखियो । लामा मारिएको पाँच महिनापछि फेरि सुन तस्कर समूहको आन्तरिक द्वन्द्वकै कारण सनम शाक्य मारिएका छन् । तस्कर समूहले उनलाई काठमाडौंबाट अपहरण गरी सिरहाको लहान पु¥याई करेन्ट लगाएर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार लहानको पश्चिमतिर नेपाल–भारत सीमा नजिकै लगेर तीनजनाको समूहले शाक्यलाई यातना दिएपछि मृत्यु भएको  अनुसन्धानबाट देखिएको छ।

यातनाका क्रममा शाक्यको मृत्यु भएपछि बा१२च ५९६३ नम्बरको स्कोरपियो गाडीमा शव राखेर धरानको चारकोसे झाडीमा गाड्न लैजानेक्रममा प्रहरीले शवसहित टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएको छ । ‘प्रारम्भिक अनुसन्धानमा केरुङबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको आशंकामा अपहरण गरेको देखिन्छ,’ एसएसपी लोहनीले भने, ‘सुन कहाँ छ भन्ने खुलाउन यातना दिँदा शाक्यको मृत्यु भएको देखिन्छ।’

शंकामै हत्या
असोज १६ मा काठमाडौं, स्वयम्भूमा शव फेलापरेका लामाले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भिœयाएका थिए । महाशाखाको अनुसन्धानमा लामाले असार २ मा चिनियाँ नागरिक बोई र तेन्जिङले रसुवामा ल्याएको तस्करीको सुन लाक्पा ग्याल्जेन तामाङलाई दिएका थिए । तामाङले सो सुन काठमाडौं ल्याउने जिम्मा उनै लामालाई दिएका थिए। 

सुन लिएर रसुवाबाट हिँडेका लामा सम्पर्कविहीन भए । खोजीमा खटिएको टोलीले लामाकी प्रेमिकाको सहयोगमा उनलाई नियन्त्रणमा लिएर तस्कर समूहबाटै  छुरा हानेर हत्या गरेको खुलेको थियो। 

तस्करीमा संलग्न समूहले सो सुन लामाले लुकाएको शंका गरेको अनुसन्धानमा खुलेको थियो । लामाले सुन लुकाए या लुकाएनन् सो खुल्न सकेको छैन। 

शव फेला परेका शाक्यको हत्यामा संलग्न आरोपमा पक्राउ तीनजनाले उनी सुनसहित सम्पर्कविहीन भएपछि आफूहरुले खोजी गरेको र सुन लुकाएको खुलाउन यातना दिएर तर्साउन खोज्दा मृत्यु भएको प्रारम्भिक बयान दिएका छन्।

तस्करमाा बढ्दो आत्मबल
महाशाखाका अनुसार तस्करीको सुनको परिमाण साढे ३३ किलो रहेको खुले पनि त्यसको मूल नाइके को हुन् खुल्न सकेको छैन । पक्राउ परेका तीनैजना सुनका भरिया मात्रै रहेको र सुन तस्करीमा संलग्न पहिलो र दोस्रो समूहका सदस्य पक्राउ नपरेकाले प्रहरीले केरुङबाट काठमाडौं सुन भित्रिएको मिति समय निश्चित गर्न सकेको छैन। 

महाशाखाको आशंकामा करिब एक महिनाअघि नाकाबाट सुन नेपाल भित्रिएको थियो । केरुङबाट भित्रिएको सुन भारत लैजाने योजना अनुसार शाक्यले झापा पु¥याएका थिए । त्यसपछि शाक्य सम्पर्कविहीन भए । तस्करीमा जोडिएका अन्य व्यक्तिले खोजी गर्नेक्रममा ४ दिनअघि शाक्यलाई काठमाडौंबाट अपहरण गरेर सिरहा लगेका थिए ।
महाशाखाले शनिबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार मोरङ उर्लाबारीका ३३ वर्षका शाक्यलाई अपहरणकारीले बन्धक बनाएर राखेको सूचना फागुन १५ मा आएको थियो । त्यसबारे अनुसन्धान गर्न महाशाखाले डिएसपी प्रजित केसीको कमान्डमा टोली परिचालन गरेको थियो । सोही टोलीले शनिबार मोरङ पोखरिया कन्यमार्गमा टेकराज मल्लले चलाएको बा.१२च. ५९६३ नम्बरको क्रिम कलरको स्कोरपियो गाडीको डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेको अवस्थामा शाक्यको शव फेला पारेको थियो। 

एसएसपी लोहनी सुन तस्करीमा संलग्न समूहबीच पछिल्लो समय द्वन्द्व बढेसँगै उनीहरुको आत्मबलसमेत बढेको देखिएको बताउँछन् । यसअघि तस्करीको सुन हराउने र लुटिने भए पनि तस्करीमा संलग्न समूहले आफ्नो समूहका सदस्यको हत्या गर्नेसम्मका गतिविधि गरेका थिएन।

तस्कर समूह सकेसम्म आन्तरिक रुपमा घटना मिलाउन सक्रिय हुने गरेको देखिए पनि पछिल्लो समय भने आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न पछि नपर्ने देखिएको छ । 

महाशाखाका एक अधिकारीका अनुसार पछिल्लो समय तस्करीको सुन फेला नपरे पनि तस्करी भने रोकिएको छैन । प्रहरीसँग बारम्बार केरुङ नाकाबाट नेपाल  भित्रिएको सुन लुटिएको सूचना आउने गरेका छन् । तर प्रहरीले सुन लुट्न संलग्न समूहलाई फेला पार्न भने सकेको छैन।

‘पछिल्लो समय सुन लुटिएको सूचना आउनेक्रम बढेको छ, तर तस्करीमा संलग्न र लुटपाटमा संलग्नबारे पूर्ण विवरण आउन सकेको छैन,’ एक अधिकारीले भने, ‘केही घटनामा दावा लामाको नाम पोलिए पनि प्रमाण फेला नपर्दा पक्राउ गर्न सकिएको छैन ।’

रोकिएन तस्करी
पाँच महिनाअघि महाशाखाले नै काठमाडौंको ठमेलमा ८८ किलो तस्करीको सुन फेला पारेको थियो । त्यसभन्दाअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुन फेला पारेको थियो। 

यी दुवै घटनाको अनुसन्धानमा सुन तस्करीका मूल नाइके चिनियाँ नागरिक रहेको खुल्यो । नेपालका मुख्य सहयोगी खोज्दा १५ किलो सुनमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको संलग्नता खुल्यो । ८८ किलो सुन तस्करीमा कांग्रेसका जिल्ला नेता मानबहादुर तामाङ जोडिएका थिए।

पछिल्लो समय तस्करीको सुन बरामद हुनेक्रम ठप्पै रहे पनि शाक्यको हत्याको कारण तस्करीको सुन भएको खुलेपछि सुन तस्करीक्रम उस्तै रहेको पुष्टि भएको छ ।

प्रकाशित: २० फाल्गुन २०७४ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App