युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताएका छन्।
आइतबार नेपाल रिपब्लिक मिडियाद्वारा राजधानीमा आयोजित ‘क्रिएटर्स च्याम्पियन ३.०’ अन्तर्गतको प्यानल छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
नेतृत्वले आफूखुसी निर्णय गर्नुभन्दा सरोकारवालाको कुरा सुन्नु महत्त्वपूर्ण हुने उनले बताए।
‘कर्पोरेट होस् वा राजनीति, जुनसुकै लिडरले पनि जनता र विषय विशेषज्ञका अनुभव सुनेर धारणा बनाउने र निर्णय दिने हो भने मात्र नतिजा प्राप्त हुन्छ,’ वैद्यले भने।
नेपालमा विकासको सन्दर्भमा बारम्बार सिंगापुरको उदाहरण दिइने गरेको बताउँदै उनले त्यसको निर्माण प्रक्रियालाई बुझ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सिंगापुरको उदाहरण नेपालमा धेरै दिइन्छ, तर सिंगापुर कसरी बन्यो त्यो बुझ्नुपर्छ। लि क्वान युले गरेको कामलाई हामीले सिकाइका रूपमा लिनुपर्छ।’
नेपालमा अहिले भाषण र बोलीभन्दा पनि कामको जवाफदेहिता खोजिएको उनको भनाइ छ। उनले देशलाई अगाडि बढाउने सक्षम नेतृत्व प्राप्त हुने आशा समेत व्यक्त गरे।
प्रकाशित: १८ माघ २०८२ १९:१९ आइतबार





