२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इन्जिनियरको कोटामा एकै पटक ६ जना सहसचिव जापान भ्रमणमा

इन्जिनियर (शाखा अधिकृत सरह) अथवा सब इन्जिनियर (नायब सुब्बा सरह) जानु पर्ने एक कार्यक्रममा सहरी विकास मन्त्रालयका ६ जना सहसचिव एकै पटक जापान भ्रमण गएका छन्। उनीहरू आइतबार राती ११ बजे जापानतर्फ गएका हुन्।

जापान जाने टोलीमा सहरी विकास तथा भवन निर्माण विभागका दुई जना उपमहानिर्देशक पनि छन्। भवन विभागका उपमहानिर्देशक मच्चाकाजी महर्जन र प्रकृण तुलाधर एकै पटक जापान भ्रमणमा गएका छन्। यसैगरी सहरी विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख कुमार घिमिरे, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख कोषनाथ अधिकारी तथा मन्त्रालयका सहसचिव दिलीप भण्डारी जापान भ्रमणमा गएका छन्। जापान भ्रमण गर्ने टोलीको नाम चयन गर्दा सहरी विकास मन्त्रालयको भवन प्रविधि महाशाखाका प्रमुख रहेका  रामचन्द्र दंगाल पनि यस पटक जापान भ्रमणमा गएका छन्। अहिले उनी सहरीबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

सहरी विकास मन्त्रालय स्रोतका अनुसार भवन निर्माण संहिता सम्बन्धी कार्यान्वयन तहको कार्यक्रममा सहभागी हुन सहसचिव सरहका कर्मचारी जापान भ्रमण गएका हुन। उनीहरू १५ दिनसम्म जापान बस्ने भएका छन्। पोहर साल यही कार्यक्रममा मन्त्रालयले सहसचिवलाई नपठाएर इन्जिनियर (शाखा अधिकृत) लाई जापान पठाएको थियो। पोहर साल प्रदीप खनाल, रञ्जन दास, माधव कटुवाल लगायतका इन्जिनियरलाई मन्त्रालयले जापान पठाएको थियो। ‘यो कार्यक्रममा सहभागी हुन कार्यान्वयन तहका कर्मचारी जानु पर्ने हो। यसमा इन्जिनियर अथवा सब इन्जिनियरलाई छान्नु पर्थ्यो तर मन्त्रालय नीति निर्माण गर्ने तहमा पुगेका सहसचिव सरहका कर्मचारीलाई पठायो’ मन्त्रालयका एक उपसचिवले भने, ‘यो भनेको तल्लो तहका कर्मचारीमाथि भएको अन्याय हो।’ मन्त्रालय स्रोतका अनुसार उक्त कार्यक्रममा भवन निर्माण सम्बन्धी तालिम दिइने भएको छ।  यस कार्यक्रमको आयोजना जाइकाले गरेको हो। 

यसबारेमा मन्त्रालयका प्रवक्ता बीनु बज्राचार्यसँग प्रतिक्रिया माग्दा यसबारेमा आफूले नबुझेको बताइन। जाइकाले यही कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिका, बागमती गाउँपालिका, सूर्य विनायक नगरपालिका, टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका प्राविधिक कर्मचारीलाई पनि आमन्त्रित गरेको छ।  जसमा बागमती, सूर्य बिनायक, टोखा र तारकेश्वर नगरपालिकाले सब इन्जिनियरलाई जापान पठाएका छन् भने ललितपुर महानगरपालिकाले भने इन्जिनियरलाई पठाएको छ।

प्रकाशित: ८ माघ २०८० ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App