१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजापुर भन्सार कार्यालयमा कर्मचारीको मनपर्दी

सेवा दिने नाममा अतिरित्त रकम मागेको भन्दै बुधबार राति ८ बजे गुलरियास्थित भन्सार कार्यालयमा तीर्थालुको प्रदर्शन। तस्बिर : नागरिक

राजापुर भन्सार कार्यालयमा दिने सेवा र सुविधाको दुरुपयोग गर्दै विभिन्न बहानामा कर्मचारीले मनपर्दी गरिरहेको पाइएको छ। भन्सार कार्यालयले दिने सेवा सुविधामा कर्मचारीले आफूखुसी सेवाग्राहीलाई विभेद गर्ने गरेको पाइएको हो।  

चार बजे नगर पासको समय सकिएको बहाना गरी रकम असुल गरेर सवारी साधन आवागन गराउने गरेको भन्सार कार्यालयले जडान गरेको सिसिटिभीबाट पुष्टि हुने सेवाग्राही दाबी गर्छन्।

भारतबाट आउने सवारी साधनलाई साँझ चार बजेसम्म नगर पास दिने व्यवस्था छ, तर चार बजेपछि समयमा नआएका भारतीय नम्बर प्लेटका सवारी साधनसँग भन्सार कर्मचारीले खुलेआम रूपमा दुई सय असुल गर्ने गरेको आरोप छ। राज्यले पर्यटन प्रवद्र्धन गर्न सीमामा सहज आवगमनका लागि भन्सार कार्यालयमार्फत सेवा र सुविधा उपलब्ध गराए पनि नेपालतर्फ सास्ती व्यहोर्न‘परेको सेवाग्राही गुनासो गर्छन्।

बुधबार राति ८ बजे प्रजिअ वेदप्रसाद खरेल राजापुर भन्सार कार्यालयमा थिए। भन्सार कार्यालयको प्रवेशद्वारमा भारतबाट तीर्थयात्रा सकेर गुलरिया फर्कदै गरेका पाका उमेरका भारी झोला बाक्दै गरेका तीर्थालुको अनुहारमा तनाव देखिन्थ्यो।

भारतीय नम्बर प्लेटको गाडीमा भारतको काशीबाट तीर्थयात्रा सकेर गुलरिया (घर) फर्कदै गरेका तीर्थालु चढेको प्रत्येक गाडीसँग भन्सार कार्यालयदेखि पाँच सय मिटरभित्र जान अतिरिक्त दुई सय मागेको भन्दै  केही समय भन्सार कार्यालयको प्रवेशद्वारमा तीर्थालुले विरोध गरे। ‘भन्सार कार्यालयमा सिडिओ साब बस्नुभा’ छ, हामी चढेको गाडीसँग भन्सार कर्मचारीले दुई सय घुस माग्ने’ तीर्थालुको भनाइ थियो।

भन्सार कार्यालयका कर्मचारीले भारतीय नम्बर प्लेटका गाडीपिच्छे फरक–फरक नियम लगाउने गरेको सेवाग्राही मुजप्फर खानको गुनासो छ। ‘हामीले नौवटा गाडीसँगै भारत लिएर गएका थियौ’, तीर्थालु सरोजप्रसाद सर्मा भन्छन्, ‘हाम्रा चारवटा गाडीका नगरपास समय सकियो भन्दै भन्सारमै रोके। १० मिनेटअघि पाँचवटा भारतीय नम्बरका सवारी साधन कसरी भन्सारबाट निस्किए त?’

भन्सार कर्मचारीको मिलेमतोमा रकम असुल गरेर नियमविपरीत भारतीय नम्बरका सवारी साधनलगायत अन्य अनिमियत काम सिसिटिभी फुटेजमा देखिने सेवाग्राही दाबी गर्छन्।

उनका अनुसार भन्सार कार्यालय दिने सेवा र सुविधालाई पैसामा बार्गेनिङ हुने गरेको छ। पश्चिम नेपालको पर्यटकीय गन्तव्य बर्दिया निकुञ्ज लगायतका गन्तव्यलाई लक्षित गरी बाह्य वा आन्तरिक पर्यटकलाई सेवा र सुविधा दिन लचकता अपनाए पनि  मिलेमतोमा बाह्य पर्यटकले नेपालको सीमामा दुःख पाइरहेका छन्। भारतीय पक्षले असक्त, बिरामी, तीर्थालुलगायतलाई जाँचपछि आवागमन सहज बनाए पनि नेपाल पुगेका पर्यटकले दुःख पाइरहेका छन्।

यसअघि भारतीय नम्बर प्लेटका सवारी साधनका चालकसँग भन्सारबाहेक अतिरिक्त रकम असुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। कार्यालय प्रमुख धनबहादुर शाहीले अतिरिक्त असुली गरेको रकमले कर्मचारी राखिएको बताएका थिए।

शाहीलाई सम्पर्क गर्दा नायब सुब्बा रामबहादुर बुढा फोनमा सम्पर्कमा आएका थिए। प्रशासन समहको भएकाले सीमाको विषयमा अनभिज्ञ रहेकाले सिक्ने क्रममा रहेको प्रमुख शाहीको भनाइ छ। ‘तीर्थबाट फर्केकाको धेरै गाडी छन् भन्ने खबर आएपछि रोक लगाउन आदेश दिएको हो’, उनले भने, ‘अरूलाई जान दिएर गलत गर्ने जोकोही भए पनि कारबाही हुन्छ।’

राजापुर भन्सार कार्यालयको अनिमियतता हो भने त्यस विषयलाई उठाउन जरुरी भएको प्रमुख जिल्ला अधिकारी खरेलले  बताए। भन्सारमा भईरहेको अनियमियतताका बारेमा अनभिज्ञ भएको प्रजिअ खरेल बताउँछन्। ‘राती तीर्थालुको गाडी रोकिँदा म पनि भन्सार कार्यालयमा थिएँ’, प्रजिअ खरेलले भने, ‘मैले भन्सारका प्रमुखलाई नियमबमोजिम गर्न भनेको छु।’

भन्सार कार्यालयका प्रमुख शाहीले राजापुर र खक्रौला भन्सार कार्यालय कैलालीको प्रमुखको कार्यभार सम्हालेका छन्। पछिल्लो समय मिलेमतोमा सीमा नाकाबाट अनियमितता भइरहेको स्थानीय गुनासो गर्छन्।

प्रकाशित: ५ माघ २०८० ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App