८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बागमतीमा सडक दुर्घटनाः साढे ४ वर्षमा १ हजार ५३० को मृत्यु

पूर्वी चितवनको खैरहनीमा बिहीबार बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु भयो। यसरी सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ। पछिल्ला साढे चार वर्षमा बागमती प्रदेशमा पाँच हजार दुई सय १३ सवारी दुर्घटना हुँदा एक हजार पाँच सय ३० जनाको ज्यान गएको छ। पछिल्लो ६ महिनामा एक सय २८ जनाको सडक दुर्घटनामा मृत्यु भएको जानकारी बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको छ।

बागमती प्रदेशका १० वटा जिल्लामा सवारी दुर्घटनाका कारण बर्सेनि साढे दुई सय देखि चार सयजनाको मृत्यु हुने गरेको छ। बागमती प्रदेशक ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका एक हजार एक सय १० सवारी दुर्घटनामा दुई सय ५२ जनाको ज्यान गएको छ भने एक हजार सात सय ५० जना घाइते भएका छन्।

बागमती प्रदेशमा सडक दुर्घटनामा आर्थिक वर्ष २०७८/७९ मा चार सय १३, आव २०७७/७८ मा तीन सय ३५ र आव २०७६/७७ मा चार सय ४ जनाको मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ।

ज्यान गुमाउनेमा ७८ प्रतिशत पुरुष

सवारी दुर्घटनामा मृत्यु हुनेमा पुरुषको संख्या अत्यधिक छ। प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेमा ७८ प्रतिशत पुरुष छन्। पछिल्ला साढे चार वर्षमा सडक दुर्घटनामा मृत्यु भएका एक हजार पाँच सय ३० जनामा एक हजार एक सय ८७ जना पुरुष छन्। यस अवधिमा भएका सडक दुर्घटनामा तीन सय ६५ जना महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा युवा धेरै छन्। यसै अवधिमा भएका सडक दुर्घटनामा आठ हजार छ सय ९० जना घाइते भएका छन्। जमध्ये तीन हजार चार सय १७ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ। यस अवधिको सडक दुर्घटना तथ्यांक हेदा औसतमा दैनिक चार वटा सवारीसाधन दुर्घटनामा परेको देखिन्छ।

पछिल्ला चार वर्षमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ। यस अवधिमा तीन हजार सात सय ६१ वटा मोटरसाइकल दुर्घटना भएका छन्। चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनाबाट एक सय २८ जनाको मृत्यु भएको छ। जसमा मोटरसाइकल दुर्घटनाका ५८ जना छन्। त्यस्तै ६ महिनामा बस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन्।

बागमती प्रदेशका १० वटा जिल्लामध्ये चितवनमा सवारी दुर्घटना र मृत्यु संख्या उच्च छ। साढे चार वर्षमा चितवनमा भएका दुर्घटनामा मृत्यु हुनेको संख्या चार ८७ छ। चितवनमा जनसंख्या र सवारीसाधनको उच्च वृद्धिका कारण दुर्घटना र मृतक संख्या बढी देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सूर्य सुवेदी बताउँछन्। ‘चितवनमा जिल्लामा राजमार्ग मात्र्र ९३ दशमलव ३९ किलोमिटर छ। यहाँको स्थानीय सडक सञ्जाल पनि झण्डै तीन हजार किलोमिटर छ,’ उनले भने।

बागमती प्रदेश ट्राफिक कार्यालय रामनगरको कार्यक्षेत्रमा काठमाडौं उपत्यकाका तीन जिल्ला पर्दैनन्। प्रदेश ट्राफिक कार्यालयका प्रमुख खडक बहादुर खत्रीले बागमती प्रदेशमा काठमाडौंपछि सबैभन्दा धेरै दुर्घटना चितवनमा हुने बताए।

मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे जिल्लामा बढी दुर्घटना भएको देखिन्छ। बागमती प्रदेशका १० जिल्लामा नौ सय १५ किलोमिटर राजमार्ग छ। राजमार्ग क्षेत्रमा साढे चार सय मात्र ट्राफिक प्रहरी खटिएको उनले बताए।

जनशक्ति अभावका पनि सवारी दुर्घटना न्यूनीकरण गर्न समस्या भएको उनको अनुभव छ। ‘तीव्र गति, चालकको लापरबाही, सवारीसाधनमा देखिने समस्या, सडक पूर्वाधार नै दुर्घटनाका प्रमुख कारण हुन्,’ उनले भने।

प्रकाशित: ४ माघ २०८० ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App