४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महंगो ब्रान्ड भजाउँदै नक्कली मदिरा कारोबार

नौ जनाको गिरोह पक्राउ

तस्बिर: राजिव खत्री

विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरेर कारोबार गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त कारोबारमा संलग्न भएको आरोपमा ९ जनाको समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

विशेष सूचना प्राप्त भएपछि अपराध अनुसन्धान कार्यालयको टोली मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको घरमा पुगेको थियो । जहाँ रामेछापका बिनोदकुमार कार्कीले भाडामा लिएको कोठाबाट नक्कली मदिरा उत्पादन गर्ने काम हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले कार्कीसहित खाँडादेवी गाउँपालिका–२ रामेछामका २८ वर्षीय मनोज खत्री, चौतारा नगरपालिका–३ सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का र १८ वर्षीय रोशन कार्की, कमलामाई नगरपालिका–९ सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेखब्रिकम थापा, मजुवा गाउँपालिका–३ रामेछामका २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिका रामेछापका २० वर्षीय मनिष खत्री र काठमाडौं मनोहरा नगरपालिका–६ मुलपानीकै ३५ वर्षीय सुमन नगरेकोटी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नौ जनाको समूहले विभिन्न महंगो दरका स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कल गरेर नक्कली उत्पादन तयार गरी बेचविखन गरिरहेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले कार्कीको कोठामा खानतलासी गर्दा खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभेल, गोल्डेन वक ब्रान्डका नक्कली मदिरा पनि बरामद गरेको छ।

यस्तै मदिरा बनाउन प्रयोग गर्ने चिनिपानी, विभिन्न ब्रान्डका मदिराका खाली बोतल, सगुन ब्राण्डको मदिरा पदार्थ पनि फेला पारेको छ। यस्तै नक्कली मदिरा प्याकेजिङ गरिसकेपछि बाहिरबाट लगाउने सामान सहित आन्तरिक राजश्व विभागको अन्तःशुल्कका स्टिकर समेत फेला पारेको छ।

उनीहरूलाई सार्वजनिक गरिसकेपछि थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइने अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: ३ माघ २०८० ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App