१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही ल्याइएको छ। हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्यइएको हो।

मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले बताए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौं प्रहरीले रातारात बम्जनलाई सर्लाही सदरमुकाम मलङ्गवा पुयाएको हो।

बुधवार राति १ः३० बजे सर्लाही ल्याइएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ। दुई वटा आरोप लागेका तपस्वी बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी रहेको एसपी धितालले बताए।

बम्जनमाथि २०७५ पुस १८ मा २८ वर्षीया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ।

सर्लाहीको साविक कर्मैया गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की बोटेलाई बेपत्ता पारेको भन्दै खोजतलासको लागि आमा सोमनी बोटेले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिएकी थिइन्।

बाराको हलखोरिया बनबाट बम्जनले बोटे युवतीलाई ’गायब’ पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको सर्लाही प्रहरीको भनाइ छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिनेछ।  

२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

बारम्बार यस्तो कुकृत्य गर्नमा बम्जनलाई अन्य दुई जनाले पनि सहयोग गर्ने गरेको निवेदनमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितको नाम ‘क’ राखिएको छ। बम्जनको कब्जाबाट पीडित आफैँ उम्केर प्रहरीमा निवेदन दिएकी थिइन्।

निवेदनपछि प्रहरीले गहन अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। २०७७ असार १८ मा प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालयमार्फत सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका कार्यालय प्रमुख कैलाश दाहालले रामबहादुर बम्जनसहित अन्य दुई जना मतियारमाथि अनुसन्धान भएको बताए। मतियारहरू ज्ञानकुमार बम्जन र जीतबहादुर तामाङसहित मुख्य अभियुक्त रामबहादुर बम्जनमाथि अदालतमा मुद्दा चलाइएको दाहालले जानकारी दिए। मतियारद्वय बम्जन र तामाङ अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन् भने मुख्य अभियुक्त रामबहादुर बम्जन भने फरार रहेका थिए। फरार रहेकै अवस्थामा बम्जन काठमाडौंबाट पक्राउ परेका हुन्।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका मतियार ज्ञानकुमार बम्जनलाई सर्लाही जिल्ला अदालतले गत २०७९ भदौ १० मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ। यसै गरी अर्का मतियार तामाङलाई सर्लाही जिल्ला अदालतले गत २०८० मंसिर ६ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तपस्वी रामबहादुर बम्जनलाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण गर्ने मुद्दामा जबरजस्ती करणीसम्बन्धी कानुन नै आकर्षित हुने सरकारी वकिल कार्यालयका प्रमुख दाहालको भनाइ छ। दाहालले उक्त कानुनको दफा २१९ को ३ (ग) बमोजिम ५ लाख जरिवाना र १२ देखि १४ वर्षसम्म कैद सजाय माग दाबी गरिएको जनाए। यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका लागि बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिने र त्यसपछि युवती बेपत्ता पारिएको मुद्दाका लागि बारा जिल्ला अदालतमा पेश गरिने बुझिएको छ।

प्रकाशित: २६ पुस २०८० ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App