६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बम्जनविरुद्ध पर्याप्त प्रमाणमा आशंका

मंगलबार पक्राउ रामबहादुर बम्जनलाई बुधबार सिआइबीको कार्यालय महाराजगन्जमा सार्वजनिक गरिँदै। बम्जनको बुढानीलकण्ठस्थित घरबाट बरामद विभिन्न देशका मुद्रा (दायाँ)। तस्बिर: विजय राई/नागरिक

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ पुर्जी जारी भएको पाँच वर्षपछि प्रहरीले ‘पक्राउ गरेको छ। तर आरोप पुष्टिका लागि बलियो आधार जुटाउन भने प्रहरी असफल देखिएको छ।

प्रहरीको नजरमा २०७६ माघदेखि नै बम्जन फरार थिए। जबर्जस्ती करणीको कसुरमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनको पिछा गर्न थालेको थियो। प्रहरीले उनीविरुद्ध अभियोग लगाउन बलियो प्रमाण जुटाउने प्रयास गर्दै आएको थियो। प्रहरीले बम्जन बस्ने आश्रमहरूमा पनि छापा मारेको थियो।

बम्जनविरुद्ध सर्लाही, बारा, मकवानपुर र सिन्धुलीमा उजुरी परेका थिए। सोही उजुरीका आधामा प्रहरीले उनलाई त्यतिबेला नै पक्राउ गर्न खोजेको थियो। तर धार्मिक दंगा फैलने र विद्रोह हुन सक्ने भन्दै राजनीतिक तहबाट दबाब आएपछि प्रहरी पछि हटेको थियो।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्म भण्डारीको नेतृत्वमा गएको टोली मंगलबार परिवारसँग बसिरहको बेला बम्जनलाई पक्राउ गर्न सफल भयो।

प्रहरीले त्यसका लागि काठमाडौंमा करिब १२ दिन पूर्वतयारी गरेको थियो। घरभाडामा खोज्ने बहानामा त्यस क्षेत्रको निगरानी गरेको सिआइबी टोलीले मंगलबार साँझ छापा मारेर बम्जनलाई पक्राउ गरेको थियो।

प्रहरीले उनीविरुद्ध हत्या, बलात्कार, यौन दुराचार र ठगीको मुद्दामा पक्राउ गरेको हो तर यी आरोप पुष्टि गर्ने प्रमाण भने प्रहरीले जुटाउन सकेको छैन। प्रमाण अभावमै बम्जनलाई सर्लाही जिल्ला अदालमा पठाइएको छ। त्यहाँ पनि सिआइबीको टोली संलग्न भएर अनुसन्धान गर्ने जनाइएको छ।

‘अनुसन्धानमा हाम्रो टोली संलग्न हुन्छ। अवैध मुद्रा पनि फेला परेको छ। विदेशी मुद्रा पनि फेला परेको छ। यो विषयमा पनि अनुसन्धान हुन्छ,’ सिआइबीका प्रमुख एआइजी बज्राचार्यले भनिन्।

आफ्नै अनुयायीलाई यौन शोषण गरी हत्या गरेको आरोप लागेपछि २०७७ माघमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो तर उनी फेला परेनन्।

बाराको निजगढ नगरपालिका–१२ ठेगाना भएका बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न सिन्धुली प्रहरीको टोली सिन्धुलीकै आश्रममा पुग्दा उनी त फेला परेनन् नै आरोप पुष्टि हुन सक्ने कुनै प्रमाण पनि भेटिएन।

उक्त टोलीले त्यतिबेला सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गरेको थियो। त्यहाँ केही थान नुनका पोकाबाहेक कुनै सामग्री फेला परेको थिएन। प्रहरीको प्रमाण त्यहाँभन्दा माथि जान सकेको छैन।

प्रहरीले २०७७ सालमै पक्राउ गर्न खोज्दा बम्जनका अनुयायीहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई भेटेर धार्मिक दंगा फैलन सक्ने भन्दै चेतावनी दिएको थियो। जसका कारण प्रहरीले उनको पिछा गर्न छाडेको थियो।

पछिल्ला केही सातायता उनको निगरानी हुँदै आएको सिआइबीले जनाएको छ। ‘हामीले निगरानी गरिरहेका थियौं। अहिले पक्राउ गर्न सफल भयौं,’ सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्। प्रहरीले दिएको जानकारीअनुसार उनी लामो समय सिन्धुली र काठमाडौंका जंगल तथा हात्तीगौंडास्थित आफ्नै घरमा बस्दै आएका थिए। ‘बेलाबखत परिवारसँग भेटघाट गर्न आउने रहेछन्। हामीले केही सातादेखि निगरानी गरिरहेका थियौं। मंगलबार पहिचान भयो, पक्राउ गर्‍यौं,’ एआइजी बज्राचार्यले भनिन्।

प्रहरीले बुधबार बिहान करिब तीन घन्टा बम्जनलाई केरकार गरेको थियो। तर कुनै पनि ‘आउटपुट’ निकाल्न सकेन। उनले धार्मिक कुरा गरेर प्रहरीको अनुसन्धान टोलीलाई मक्ख बनाएका थिए। उनले आफूमाथि लागेका सबै आरोपबारे अनभिज्ञता प्रकट गरेका थिए।

आफू तपस्वी भएकाले लाखौं भक्तजन आउने गरेको र कोको आउनेजाने भन्नेबारे जानकारी नै नभएको उनले बताएका थिए।

‘म एउटा कुनामा ध्यान गरेर बस्ने तपस्वी हुँ। भक्तजन को आए को गए भन्ने कुनै लेखाजोखा थिएन। मलाई को हराए वा को कहाँ गए भन्ने जानकारी हुने कुरा पनि भएन,’ उनले सिआइबीका अनुसन्धान अधिकृतलाई दिएको प्रारम्भिक बयानमा भनेका थिए।

बम्जनले आफूलाई प्रहरीले खोजी गरिरहेको छ भन्ने विषयमा पनि कुनै जानकारी नभएको बताएका थिए। ‘तपाईंहरूले ल्याउँदा मात्रै मेरो विरुद्धमा उजुरी परेको भन्ने जानकारी भयो, नत्र आफैं आइहाल्थें,’ उनको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने।

पाँच जना बेपत्ता पारेको र अनुयायीमाथि यौन शोषण गरेको आरोप लागेपछि लामो समयदेखि फरार बम्जनलाई सिआइबीले बुधबार सार्वजनिक गरी सर्लाही पठाएको छ।

प्रहरीका अनुसार सिआइबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हाम फालेर भाग्न तम्तयार भएको प्रहरी दाबी छ। एआइजी बज्राचार्यका अनुसार उनी दुई तलाबाट हाम फालेका थिए। तर सिआइबीले अन्य तीनवटा टोली तैनाथ गरेकाले उनी उम्कन सकेनन्। सिआइबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो।

सिआइबीका अनुसार बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ बरामद गरिएको छ। अनुसन्धानका क्रममा उनको घरबाट ठुलो धनराशि बरामद गरिएको पनि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए। उनका अनुसार बरामद नगद राशिमध्ये १७ देशका विभिन्न मुद्रा छन्, जसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ।

त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, पाँच थान आइप्याड, दुईवटा गाडी र चारवटा मोटरसाइकल पनि फेला पारेको छ। ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा बम्जन भनिने रामलाल बम्जनलाई हिजो बेलुकी हात्तीगौंडाबाट पक्राउ गर्न सफल भएका छौं,’ उनले भने, ‘विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकामाथि बालयौन दुराचार र बलात्कारको आरोपमा बम्जनको खोजी भइरहेको थियो।’

‘लिटिल बुद्ध’ भनी प्रचारित रामबहादुर बम्जनको शैक्षिक योग्यता ५ कक्षा मात्र रहेको सिआइबीले जनाएको छ। बारामा जन्मिएका उनले २०६२ सालमा पढाइ र घर त्यागेर तपस्या सुरु गरेका थिए। घरबाट केही टाढा हलखोरियाको चारकोसे जंगलमा तपस्या सुरु गरेका उनी पछि ‘लिटिल बुद्ध’को नामले प्रचारित भए।

 बम्जन सुरुदेखि नै विवादित रहँदै आएका थिए। कहिले आफूविरुद्ध बोल्नेलाई बन्धक बनाएको त कहिले सर्वसाधारण कुटेको विषयमा होस् वा गढीमाई मेलामा बलि रोक्ने विषयमा होस्, उनी हरेक विषयमा विवादित नै रहे।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भयो। त्यसपछि उनी फरार थिए। निजविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।

बम्जनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ। बम्जनले धुम्बाराहीस्थित एक सोरुमबाट ५ करोड रूपैयाँको ल्यान्ड क्रुजर गाडी खरिद गर्ने तयारीसमेत गर्दै थिए। बम्जनले चढ्ने टोयोटा फच्र्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यामाहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

विभिन्न जिल्लाका आश्रमबाट सन्चलाल वाइबा, फूलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुर्व्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले पाँच वर्षदेखि खोजी गरिरहेको थियो।

त्यतिबेला सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एउटा खाल्डोमा नुनका पोकाहरू फेला परेका थिए। शव गाडेर चाँडो कुहाउन नुन हालेको आशंका गरिए पनि हत्याको थप प्रमाण भने फेला परेको थिएन। उनका विरुद्ध बारा र मकवानपुर प्रहरीमा पनि मुद्दा छन्।

प्रकाशित: २६ पुस २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App