१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सीमा क्षेत्र उजाड हुँदा लोपोन्मुख वन्यजन्तु भारततिर

इलामको सन्दुकपुरबाट देखिएको नेपाल–भारत सीमा क्षेत्र।

नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा वनजंगल मासिएपछि वन्यजन्तु संरक्षणमा चुनौती देखिँदैछ। भारतपट्टि सिंहलीला नेसनल पार्क रहेको घनाजंगल भएपनि नेपालपट्टि उजाड डाँडाकाँडामात्र हुँदा यताका लोपोन्मुख वन्यजन्तुसमेत भारतपट्टि सर्दै जाने जोखिम देखिएको छ।

जिल्लास्थित सुरक्षा निकायले भर्खरै गरेको अनुगमन क्रममा पनि नेपालपट्टि वनजंगल नहुँदा र भारतपट्टि घना भएका कारण यताका वन्यजन्तु भारतपट्टिकै जङ्गलतिर सरिरहेको पाइएको हो । सिडिओ इन्द्रदेव यादवले सन्दुकपुरदेखि पशुपतिनगरसम्मको सीमा क्षेत्रमा प्रायः नेपालपट्टि रुखबिरुवा नहुँदा वन्यजन्तुलाई समस्या भएको पाएको बताए। ‘वन्यजन्तुका लागि उचित वातावरण नबनाउने हो भने सीमा क्षेत्रमा लोपोन्मुख वन्यजन्तु अड्याउनसमेत चुनौती हुने रहेछ,’ उनले भने, ‘यसमा सरोकारवाला सबैको चासो आवश्यक छ।’ जैविक विविधतायुक्त यो क्षेत्र विश्वको दुर्लभ वन्यजन्तु रेड पान्डासहित सयौँ प्रकारका चराको वासस्थान हो।

सुरक्षा निकायले सन्दकपुर, जौबारी, तुम्लिङलगायत स्थानका सीमा स्तम्भ, सीमास्थित सशस्त्र प्रहरी बलका बोर्डर अब्जरभेसन पोस्ट (बिओपी), स्थानीय प्रहरी चौकी, सवारी साधनको आउ–जाऊ, लागूऔषध कारोबारको अवस्था, कानुन विपरीत हुने आयात–निर्यातलगायत निरीक्षण गरेको थियो। ‘अहिले एसएसबी (भारतीय सीमा सुरक्षा बल) र सीमा क्षेत्रका नेपालीबिच चाहिँ ठूलो समस्या देखिएन,’ उनले भने, ‘अरू धेरै खाले समस्या स्थानीयले भोगिरहनुभएको रहेछ।’

सिडिओ यादवले सीमा क्षेत्रका सुरक्षा इकाई र कतिपय स्थानमा टेलिफोन नलाग्ने, इन्टरनेट सेवा नभएका, सडक र अन्य पूर्वाधार अभाव भएको पाएको बताए। ‘जौबारीको आलु विकास केन्द्रको सबै जमिन प्रयोग हुन सकेको रहेनछ,’ उनले भने, ‘सडक व्यवस्थित नहुँदा बर्खामा स्थानीयलाई धेरै समस्या रहेको, नेपालीले भारतपट्टिको सडक र बजार प्रयोग गर्नुपर्ने बाध्यता रहेको पाइयो।’

पूर्वी नेपालमा इलामले भारत छोएको भू–भाग साढे ५२ किलोमिटर छ। सन्दुकपुरदेखि जिर्मलेसम्मको यो क्षेत्रको दशगजा लामो समयदेखि अतिक्रमण चपेटामा छ। यो क्षेत्रका बासिन्दामा वर्षाैंदेखि दर्जनौँ चुनौतीसँग जुधिरहेका छन्। बेला–बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती खप्नु त छँदैछ, दैनिक उपभोग्य वस्तु खरिदका लागि हाटबजार जानुपरे नेपालपट्टिका बजार पुग्न उनीहरूलाई सधैं समस्या छ।

सन्दुकपुरदेखि पशुपतिनगरसम्मको उच्च पहाडी क्षेत्रमा प्रायः निकै चिसो मौसम हुनेगरेकाले हरेक किसिमका चुनौती स्थानीयले भोगिरहेका छन्। आफ्नो देशपट्टि सहज सडक र बजार नहुँदा सीमा क्षेत्रका बासिन्दा भारतीय बजारबाटै उपभोग्य सामग्री खरिद गर्न बाध्य छन्। त्यति मात्र होइन, बिरामी परे उपचारका लागिसमेत भारतीय अस्पताल नै जानुपर्ने बाध्यता आफूहरूलाई रहेको स्थानीय बताउँछन्।

सीमाको विषयलाई लिएर कहिलेकाहीँ एसएसबीसँग झगडासमेत हुनेगरेकाले स्थानीय नेपालीलाई भारतपट्टिका बजारसम्म पुग्न त्राससमेत हुने गरेको छ। तर, सीमा रक्षाका लागि आफूहरू जस्तोसुकै जोखिम मोलेर लड्ने गरेको स्थानीय बताउँछन्। ‘हामीलाई आफ्नै देशले चाहिँ धेरै उपेक्षा गरेको छ,’ पशुपतिनगरको हिलेका एक नेपाली भन्छन्, ‘नेपालपट्टि नै सडक, खानेपानी, विद्यालय, अस्पताललगायतको राम्रो सुविधा हुने हो भने हामी अरूसँग झुक्नुपर्ने थिएन।’

प्रकाशित: २३ पुस २०८० ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App