२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

हटाउन थालियो बुटवलमा सार्वजनिकस्थलका घरटहरा

बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।

अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन  र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको छ।

सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटकपटक पत्राचार गरे पनि स्वःस्फुर्त टहरा नहटाएपछि इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको बुटवल उपमहानगरपालिका ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिने छ।

यस्तै नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए। यस्तै वडा नं ६ र अरु वडामा पनि सार्वजनिकस्थलको संरक्षण गर्दै उद्यान र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकास गर्नका लागि पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार चालु आवमा केही स्थानमा मोडेलका रूपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आवमा बुटवलका सबैजसो वडामा उद्यान र चौतारी निर्माण गरिनेछ। –रासस

प्रकाशित: २३ पुस २०८० ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App