१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चिसोले थलिएका राउटेलाई न्यानो कपडा

जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्यानो कपडासहित त्रिपाल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ४१ घरधुरी रहेको राउटे समुदायलाई बस्तीमै पुगी फाइबर सिरक, कम्बल, छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिकको डोरी, बाल्टिन, जग र टर्च लाइटसहित त्रिपाल वितरण गरेको छ।

 दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वको जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले सो सामग्री वितरण गरेको हो।

दिनानुदिन चिसो बढ्दै गएपछि राउटेको जनजीवन कष्टकर हुन थालेको छ। सहयोग आउने गरे पनि यति बाक्ला न्यानो कपडा पहिलो पटक आएको भन्दै राउटे मुखिया दिलबहादुर शाहीले खुसी व्यक्त गरे। ‘जनता चिसोले हैरानी व्यहोरिरहेका थिए,’ मुखिया शाहीले भने, ‘यो कपडाले राति पनि अब तातो हुने भयो।’

चिसो बढेसँगै बस्तीमा हिजोआज आधा रातसम्म आगो तापेर राउटेहरू बस्ने गरेका थिए। विशेष पर्वका रूपमा माघ १ गतेलाई मनाउने गरेका राउटेहरू भत्ता नआउँदा चिन्तित छन्। उनीहरूले प्रजिअ भुसाललाई आफ्नो बस्तीमा माघीमा खसी व्यवस्थापन गरिदिन अर्का राउटे मुखिया सूर्यनारायण शाहीले अनुरोध गरेका छन्।

भैरवी गाउँपालिका–५ घरखेतबाट १ महिना बसेर राउटेहरू भैरवी गाउँपालिका–४ गडाजिउला खोलामा नयाँ बस्ती सरेका छन्। अहिले राउटे समुदायमा १ सय ४१ जना रहेका छन्।

दक्षिण एसियाको एक मात्र जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेको संरक्षणमा चासो देखाएको पाइँदैन। कुपोषणलगायत रोगले राउटे बालबालिका ग्रसित छन्। सरकारले भत्ता उपलब्ध गराएयता राउटेहरू विभिन्न खाले कुलतमा फसेका छन्।

भत्ता नआउनु अघि काठका भाँडाकुँडा बनाउने र अन्नसँग साटेर जीविकोपार्जन गर्थे। बिरामी हुँदा आफ्नै समुदायका वैद्यले गरेको उपचारबाट सन्चो हुन्थे तर हिजोआज अत्यधिक मदिरा सेवन र पोसिलो खानपान नहुँदा वैद्यको उपचारले पनि काम गर्दैन। जसकारण दिनानुदिन राउटेको जनसंख्या घट्दो छ।

राउटेहरू सरकारकै कारण मृत्युवरण गरिरहेका छन्। भत्ता दिनुको साटो राउटे जहाँ बस्छन्, त्यही पोषणयुक्त खानेकुरासहित मेस चलाए राउटेहरू घट्नबाट बचाउन सकिने विश्लेषणसमेत हुन लागेको छ।

प्रकाशित: २१ पुस २०८० ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App