१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मानवअधिकार विपरितका घटनामा १४० प्रतिशतले वृद्धिः इन्सेक

पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानवअधिकार विपरितका घटनामा १ सय ४० प्रतिशतले वृद्धि भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०२३ मा मानवअधिकार विपरितका ४८ वटा घटना भएका छन्। इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार सन् २०२२ मा मानवअधिकार विपरितका २० वटा घटना मात्रै भएकोमा सन् २०२३ मा बढेर ४८ पुगेको छ।

मानवअधिकार वर्ष पुस्तक २०२४ को वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ४८ वटा मानव अधिकार विपरितका घटनामा ४९ जना पीडित छन्।  

इन्सेक जिल्ला प्रतिनिधि दियालीले विभिन्न १३ वटा शीर्षकमा मानवअधिकार विपरित भएका घटनाको अभिलेखीकरण गरेकी छन्। जसअनुसार सबैभन्दा बढी १८ वटा घरेलु हिंसाका घटना भएका छन्। बलात्कारका १२ वटा घटनामा सात बालिका र पाँच महिला पीडित भएको दियालीको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै कुटपिटका पाँचवटा घटना भएका छन्। उनका अनुसार हत्या र हत्या प्रयासका तीन–तीनवटा, अभद्र व्यवहार र बहुविवाहका दुई–दुईवटा र राजनीतिक अधिकारसँग सम्बन्धित एकवटा घटनामा दुईजना पीडित भएका छन्।  

गाली गलौज र भौतिक संरचनामा क्षतिसँग सम्बन्धित एक–एकवटा घटना भएको दियालीले वार्षिक समिक्षा कार्यक्रममा आफ्नो प्रतिवेदन पेश गरेकी छन्। सन् २०२२ को एकवर्षको अवधिमा सबैभन्दा धेरे बलात्कारका ११ वटा, हत्याका तीनवटा, बाल यौन दुव्र्यवहार र कुटपिटका दुई–दुईवटा र बहुविवाह तथा बलात्कार र मानव बेचबिखनसंँग सम्बन्धित एक–एकवटा गरी २० वटा घटना अभिलेखीकरणमा रहेको दियालीले जनाएकी छन्।  

प्रकाशित: १७ पुस २०८० ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App