१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महानगरले सुविधासम्पन्न भवन बनाउने

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा ज्येष्ठ नागरिकका लागि आवाससहितको सुविधासम्पन्न भवन निर्माण गर्ने बताएका छन्।

 विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा सुविधासम्पन्न ज्येष्ठ नागरिक भवन निर्माणको तयारी गरिएको जानकारी दिए।

‘सन्तान विदेशमा बस्ने बाबुआमा नेपालमा बस्ने क्रम बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई समस्या भइरहेकाले सुविधासम्पन्न ज्येष्ठ नागरिक भवनको आवश्यकता महसुस गरी महानगरले निर्माणको तयारी गरेको हो,’ मेयर कोइरालाले भने।

मेयर कोइरालाले विराटनगरमा निर्माण हुने ज्येष्ठ नागरिक भवनमा आवास, मनोरञ्जन, पुस्तकालय, औषधि उपचार, योगालगायत सुविधा हुनेछन्।

मेयर कोइरालाले विराटनगर महानगरपालिकाले सुर्तीजन्य वस्तु बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको, सरसफाइ अभियान सञ्चालन गरी सफा सहर बनाउने प्रयास गरिरहेको बताए।

उनले समयमै नाला सफा गर्दा गत वर्ष विराटनगरमा डुबानको समस्या धेरै नदेखिएको दाबी गरे। उनले सहरका सबै स्थानको नाला सफाइको काम महानगरले मात्रै गर्दा धेरै बजेट चाहिने र एउटा काममा ठूलो रकम खर्च गर्दा अन्य विकास निर्माणका काम प्रभावित हुने भएकाले हिउँदमै आफ्नो घरअगाडिका नाला सफा गरी डुबानमुक्त विराटनगर बनाउने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रहसमेत गरे। 

प्रकाशित: १५ पुस २०८० ०४:०२ आइतबार

विराटनगर महानगरपालिका मेयर नागेश कोइराला सुविधासम्पन्न भवन