१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रक्सीको ‘सुक्खा याम’

यस्ताे पनि!

लामो अध्ययनपछि बेलायतीहरूले १० वर्षअघि जनवरीलाई रक्सीको सुक्खा याम (ड्राई जनवरी) मनाउन थालेका थिए। यही कुराको सिको गर्दै सन् २०२० यता फ्रान्सेलीहरूले रक्सीको कुलत घटाउन सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। रक्सी प्रतिबन्ध गर्न अहिलेलाई गाह्रो भए पनि कम्तीमा एक महिनाभरि ‘रक्सीको सुख्खायाम’ घोषणा गर्न उनीहरूले आग्रह गरेका छन्।

एउटा अध्ययनमा ६० प्रतिशत फ्रान्सेलीहरूले नयाँ वर्षमा के छाड्न चाहनुहुन्छ भन्ने प्रश्नमा रक्सी भनी उत्तर दिएका थिए। रक्सीको खपतमा युरोप निकै अगाडि छ।

अभियन्ताहरू भन्छन्, ‘पूरै रक्सी अहिले बन्द गरिहाल्नु पर्दैन। कम्तीमा एक महिना रक्सी पसललाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिदिए मात्र पनि पुग्छ।’

जुन मुलुकमा सरकारप्रति जनताको गहिरो विश्वास छ, त्यहाँ सरकारले घोषणा गरिदिंदा मात्र पनि पुग्ने हुन्छ। त्यसैले अभियन्ताले फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनले यसबारे केही बोल्न ढिला भएको टिप्पणी गर्न थालेका छन्। दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी रक्सीप्रेमी राष्ट्रपतिका रूपमा म्याक्रोँ चिनिन्छन्। उनलाई दिनदिनै खानामा वाइन चाहिन्छ।

द गार्डियन अखबारका अनुसार संसारमै अमेरिका सबैभन्दा बढी रक्सी खपत हुने मुलुक हो। दोस्रोमा फ्रान्स पर्छ। फ्रान्समा रक्सी कारखानाले पाँच लाखलाई रोजगारी दिएको छ।

फ्रान्सको रक्सी संस्कृति कस्तो छ भने ७० प्रतिशत अभिभावक चाडपर्वका बेला आफ्ना किशोर सन्तानले रक्सी खाँदा फरक पर्दैन भन्ने ठान्छन्। त्यसो त फ्रान्समा सरकार चुरोटविरोधी महिनाका रूपमा नोभेम्बरभरि प्रचारप्रसार गर्छ तर रक्सीमा भने मौन बस्ने गर्छ।

निरन्तर रक्सी पिउनेहरूले एक महिना रक्सी छाड्दाका केही सकारात्मक तथ्यांक देखापरेको बेलायती उदाहरणलाई फ्रान्सेलीहरूले पेस गरिरहेका छन्।

 रक्सीबिनाका एक महिनाले सर्वसाधारणको रक्तचापमा सुधार आएको, राम्रो निद्रा परेको जस्ता सकारात्मक प्रभाव देखिएको थियो।

अभियन्ताहरू भन्छन्, ‘हामीले रक्सी प्रतिबन्ध लगाउन खोजेको होइन, यसप्रति जागरुक बनाउन खोजेको हो किनभने रक्सीका अनेकन् बेफाइदा छन्। ती बेफाइदाबारे सर्वसाधारणलाई जागरुक बनाउन ढिला भइसक्यो।’

फ्रान्समा वार्षिक रूपमा ४२ हजार मृत्यु रक्सी सम्बन्धित छन्।यता रक्सी उत्पादकहरूले भने सरकारले कुनै निर्देशिका जारी गर्न जरुरी नभएको बताएका छन्।

उनीहरूको तर्क छ, ‘सातामा १० गिलास रक्सी खानु अनुपयुक्त नहुने सरकारको निर्देशिका छ। ९० प्रतिशतले यही कुरा मानिरहेका छन्। पछिल्ला ६० वर्षमा पहिलेको तुलनामा ६० प्रतिशत रक्सी खपत घटिसकेको छ।’

-प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १५ पुस २०८० ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App