जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे नियन्त्रण गर्न समस्या हुने अनुसन्धानकर्ताको ठहर छ।
यसैगरी तातो वातावरणमा लामखुट्टेका लार्भाको विकास द्रुत गतिमा हुने र यसलाई सिकार गर्ने गाइने किरालगायत अन्य सिकारी किरालाई लार्भा खाने अवसर सीमित हुने अध्ययनको निष्कर्ष छ।
अमेरिकाको भर्जिनिया कमन वेल्थ विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधकार्य तथा वैज्ञानिक जर्नल इकोलोजीमा कभर फिचरका रूपमा हालै प्रकाशित उक्त अध्ययन नतिजाले यस्तो देखाएको हो।
अनुसन्धानकर्ताले यस्तो अवस्थामा लार्भाबाट वयस्क लामखुट्टेमा विकास हुने दर दुई गुणाले बढ्ने आकलन गरेका छन्। अनुसन्धानका क्रममा रिचमन्डस्थित जेम्स नदी र सो नदीको वरपर चट्टाननजिकका पोखरीछेउछाउ बस्ने लामखुट्टेको अध्ययन गरिएको थियो।
‘यस्तो अवस्थामा सबैले मन नपराउने यो किराको संख्या अत्यधिक बढ्ने देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका प्रमुख अनुसन्धानकर्ता एन्ड्र्यु डेभिडसनले प्रेस विज्ञप्तिमा भनेका छन्।
अनुसन्धानकर्ताले लामखुट्टेका लार्भाको सिकार गर्ने गाइने किराहरूको उपस्थिति रहे पनि न्यानो पोखरीमा अत्यधिक लार्भा रहेको पत्ता लगाएका थिए। ‘उत्तर अमेरिकामा चट्टाननजिकका पोखरीमा गरिएको अध्ययनको नतिजा जिका भाइरस र वेस्ट नाइलजस्ता रोगको प्रसारणमा जिम्मेवार ठानिएका लामखुट्टेका प्रजातिमा पनि लागु हुन सक्छ,’ डेभिडसनले भनेका छन्। अध्ययनमा सिकारी र सिकारको अन्तरसम्बन्धमा तापक्रमले पार्ने प्रभावलाई समेत हेरिएको थियो।
पारिस्थितिकीय प्रणाली तथा खाद्य सञ्जाल (फुड वेब्स) मा सिकारी जन्तुले गर्ने सिकारका कारण कतिपय जीवजन्तुको संख्या नियन्त्रित हुने गरेको हुन्छ।
सिकारी जीवजन्तुले कृषिबालीमा लाग्ने किरा नियन्त्रण तथा विभिन्न खाले रोग निम्त्याउने किरा नियन्त्रण गरेर पारिस्थितिकीय सेवा (इकोसिस्टम सर्भिस) उपलब्ध गराउने गर्छन्। यो सन्दर्भमा अध्ययनको नतिजाले विद्यमान पारिस्थिकीय सेवासमेत बिथोलिन सक्ने देखिएको छ।
‘विश्वको तापमान बढ्दो क्रममा रहेको सन्दर्भमा पारिस्थिकीय प्रणालीमा पर्ने असरलाई निगरानी गर्ने मात्र नभई यी विषयमा रहेका आकलन र बुझाइलाई समेत समीक्षा गर्नु जरुरी देखिएको छ,’ अध्ययन प्रतिवेदनमा अनुसन्धानकर्ताले भनेका छन्।
औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जीवाश्म इन्धनको बेरोकतोक प्रयोगले सरदर तापमान बढ्ने क्रम जारी छ।
लामखुट्टेका कारण लाग्ने मलेरिया र जलवायु परिवर्तनको जटिल सम्बन्धबारे अध्ययनहरू सीमित भएको सन्दर्भमा यसअघि मलेरिया नियन्त्रण भइसकेका क्षेत्र र नयाँ क्षेत्रमा मलेरिया रोगको प्रसारण हुनसक्ने संयुक्त राष्ट्रसंघ (युएन) क्रोनिकलमा राखिएको एक आलेखमा उल्लेख छ।
मलेरियाका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने र १ अर्ब मानिस संक्रमित हुने संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ।
‘तापक्रम, वर्षा तथा आर्द्रतामा हुने परिवर्तनले लामखुट्टेको उमेर, विकास र प्रसारणमा प्रभाव पार्छ,’ क्रोनिकलमा कोलम्बो विश्वविद्यालयका प्राध्यापक एसडी फर्नान्डोले भनेका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनले पहिलोपटक जलवायु र स्वास्थ्यसम्बन्धी घोषणापत्र जारी गरेको छ।
नेपाल लगायत १२३ राष्ट्रले हस्ताक्षर गरेको यो घोषणपत्रमा जलवायु परिवर्तन र जनस्वास्थ्यको अन्तरसम्बन्धलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य प्रणालीलाई जलवायु उत्थानशील पार्नुपर्ने तथा जलवायु जोखिममा रहेका समुदायको संरक्षण गर्नुपर्ने विषयलाई जोड दिइएको छ।
प्रकाशित: १० पुस २०८० ०१:२३ मंगलबार