२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेढ किलोमिटर छिर्दा पनि पत्ता लागेन पाताल गुफाको अन्तिम विन्दु

दक्षिण एसियाकै लामो भनिएको बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर गुफाको अध्ययनका लागि विशेषज्ञसहितको टोली यहाँ आइपुगेको छ। उक्त टोली गुफा भित्र छिरेर अध्ययन गरेर फर्किएको छ।

टोली गुफाको झन्डै डेढ किलोमिटर भित्र पुगेर फर्किएको हो। आइतबार दिउँसो १ बजेर ११ मिनेटमा गुफा विशेषज्ञ बेलायतका पिटर एलिसन उनका सहयोगी बङ्लादेशका आरिफ गोइया र स्थानीयहरू गरेर ५ जनाको टोली गुफाभित्र गएको थियो।

यसअघि फ्रान्सेली गुफा विशेषज्ञको टोली पुगेको ठाउँभन्दा थप गहिराइमा आजको टोली पुगेको गुफाका बारेमा स्थानीय जानकार कैलाश चन्दले बताए। पानीको भेलले बगाएर गुफाभित्र लगेको पातपतिङरका कारण टोली भित्र जान नसकेको जानकारी आएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। गुफाभित्र पसेका बेलायती गुफा विशेषज्ञ पिटर एलिसनले गुफाको गहिराई धेरै रहेको बताएका छन्। गुफाको अन्तिम बिन्दु पत्ता लगाउन त्यति सजिलो नभएको उनले बताए।

२०७२ सालमा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले ८ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भूमेश्वर गुफाको गहिराइ १ सय ६० मिटर रहेको ठम्याएको थियो।

८ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीमा अभावमा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो। युट्युबबाट जानकारी पाएर बेलायती गुफा विशेषज्ञ एक जना बङ्गलादेशी सहयोगी सहित बैतडी पुगेका र उनी केही दिन बैतडीमै बस्ने अध्यक्ष कुँवरले बताए।

धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिएको पाताल भुवनेश्वर धाम यहाँ मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध छ।

प्रकाशित: ९ पुस २०८० ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App